Opens in a new tab

अपराध

नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट २ लाख ७७ हजार नेपाली रुपैयाँसहित दुई महिला पक्राउ

नवलपुर टुडे
२०८३ अशोज ८ | मध्यान्ह ०७:०६ बजे

विराटनगर । नेपाल–भारत सीमावर्ती जोगबनी क्षेत्रबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्रोत नखुलेको २ लाख ७७ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जना नेपाली महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा नेपालको उदयपुर निवासी प्रतिमा सन्यासी र जमुना भटराई रहेका छन्। उनीहरूले उक्त रकम अवैध रूपमा ओसारपसार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एसएसबीको ५६औँ वाहिनी मातहत रहेको बोर्डर इन्टर्‍याक्सन टिमले विशेष सूचनाका आधारमा भारत–नेपाल सीमा स्तम्भ संख्या १८० नजिकै (बीसीपी गेट) बाट उनीहरूलाई पक्राउ गरेको हो। सीमा स्तम्भबाट करिब ५ मिटर भारतीय भूमिभित्र ड्युटीमा खटिएको टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त रकम बरामद भएको जनाइएको छ।

बरामद गरिएको नेपाली रुपैयाँसहित पक्राउ परेका दुवै महिलालाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि भारतको फारबिसगञ्जस्थित भन्सार कार्यालय (कस्टम) मा बुझाइएको एसएसबीले जनाएको छ।

एसएसबीले सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध वित्तीय कारोबारविरुद्धको निगरानी कडा बनाएको छ।

कमेन्टहरु