प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि सर्वोच्च परिसरमा प्रदर्शन

जगत ठाडा मगर
२०७८ कार्तिक १५ | बिहान ११:०७ बजे

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् ।
आइतबार पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ । उनीहरु प्रधानन्यायाधीशको राजीनामा मागसहित कालो ब्यानर बोकेर धर्ना बसेका छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताएका छन् । यदि १६ गतेसम्ममा राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने एशोसिएसनले जनाएको छ ।






















