प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज बिश्वासको मत लिने, बिपक्ष गठबन्धन बहुमतमा


विराटनगर । आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री भीम प्रसाद आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासका मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यसूची छ । कात्तिक ७ गतेको लागि तोकिएको बैठकमा मत विभाजन हुने तय भएको थियो ।
कांग्रेस र एमालेले निवेदन दर्ता गराई बैठक सार्न माग गरेपछि आजको लागि बैठक सारिएको थियो । प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले सोमबारको बैठकको कार्यसूची पहिल्यै तय भएकाले कार्यव्यवस्थाको बैठक बसिरहन नपर्ने जानकारी दिए । पराजुलीले भने, “साढे १२ बजे बस्ने बैठकको कार्यसूची यसअघि नै तय भइसकेको हो ।” विपक्षी गठबन्धनले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेका छन् । कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले भने, “आलोपालोको दावी नेपाली कांग्रेसको आन्तरिक विषय हो । तर, आचार्यले विश्वासको मत गुमाएपछि बन्ने नयाँ सरकारको नेतृत्व भने राईले नै गर्नु हुनेछ ।”
भीम आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका थिए । शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य पहिले संसदीय दलको नेता र त्यही दिन मुख्यमन्त्री नियुक्त भएका थिए । ९२ सदस्य रहेको प्रदेश सभामा वहुमतको लागि ४७ जना सांसद चाहिन्छ । एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार सूचीमा रहेकोले आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त आउने अवस्था छ ।
विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।






















