राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि आज मनाङ जाँदै


मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएका छन् । अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ प्रस्थान गर्ने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ । यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ । यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत लगायतका स्थानीय संंरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले पहल गरिरहेका छन् ।
बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ । त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ । आज राष्ट्रपति भण्डारीले अवलोकन गर्नुहुने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो । यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ ।
मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो । उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र फार्मभरि स्याउ लगाइएको छ । रासस






















