देश

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा गौतमबुद्ध विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | मध्यान्ह ०४:०७ बजे

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा निर्माण गरिएको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानस्थलको प्रवेशद्वारमा उक्त बुद्ध मूर्तिको अनावरण गरिएको हो ।

साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल १८०० किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनाइएको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको संयुक्त पहलमा विमानस्थलमा ल्याइएको हो । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा `महाकरुणा बुद्धमूर्ति´ राखिनुले यहाँबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गरिन् । उनले बुद्धका उपदेश अनुशरणबाटै विश्वमा शान्ति अमनचयन हुन सक्ने भएकाले सबैले आफ्नो जीवनमा अनुशरण गर्ने र विश्वभर पुर्‍याउनुपर्ने धारणा व्यक्त गरिन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना छिट्टै पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइएकि छिन् । विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाई विदेशी पर्यटक, अध्ययन अनुसन्धानकर्तालाई आकर्षित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

कमेन्टहरु