न्यायपालिका अहिले खतरामा छ : वरिष्ठ अधिवक्ता ढुंगाना

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले न्यायपालिकाको गरिमा रक्षा गर्न आन्दोलनमा उत्रनु परेको बताएका छन् ।
नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बार परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कालो पट्टि बाधेर भएको विरोध प्रदर्शनमा उनले संविधानबाट चल्ने न्यायपालिका अहिले खतरामा रहेको उल्लेख गरेका छन् । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ढुंगानाले आफूहरू संविधानको रक्षा, स्वतन्त्रता र सक्षम न्यायपालिकाको पक्षमा रहेको बताए ।
“संविधानको अपेक्षाबमोजिम निर्माण गरेका संस्थाहरू चलिरहेका छैनन्, नेतृत्वमा रहेका जो छन्, तिनीहरूले यथास्थानमा कानुन र आचारसंहिता बमोजिम काम गर्न सकिरहेका छैनन्,” उनले भने, “संविधानले तर्जुमा गरेका न्यायपालिका र संस्थाहरू सबै यथास्थानमा खतरामा छन्, हामी स्वतन्त्रताको रक्षाका लागि लडेका हौँ ।”






















