उपमहानगरले फोहोर व्यवस्थापनमा ध्यान नदिदा नगर प्रमुखको घर अगाडि थुपारे फोहोर


धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै स्थानीय जनप्रतिनिधिहरुले नै नगर प्रमुखको घर अगाडि फोहोर थुपारेका छन् ।
दीपावली नजिकिदा पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकिरहेको छैन ।
उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा कुनै चाँसो नगरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन् । जनकपुरधाम उपमहानगर–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा स्थानीय युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेका हुन् ।
प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना बसेका छन् ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले कुनै चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको र जनताको समस्यालाई बेवास्ता गरी भ्रष्टाचारमा तल्लीन भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।
दीपावली आउन केहि दिनमात्रै बाँकी रहेको र अहिले सबै स्थानीयहरु आफ्नो घर सरसफाइमा लागि रहँदा वडाका सडक छेउछाउमा फोहोर थुपारिएको भन्दै जनकपुरधाम–४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरले समय मै फोहोर व्यवस्थापन नगर्दा विरोधमा उत्रन बाध्य भएको बताए ।






















