अबदेखि सीमा नाकामा कडाइ, सीसीटिभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने

नवलपरासी । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ ।
नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ । बैठकमा नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् भन्ने बारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडलाई ब्रिफिङ गरेका छन् ।
गृहमन्त्री खाडले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न निर्देशन दिएका छन। गएको आठ गते काठमाण्डौको सिनामङ्गलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका थिए।






















