राजनीति

बयलगाडाको सोच भएकाहरु ओलीको पछि लागेको माधव नेपालको टिप्पणी

जगत ठाडा मगर
२०७८ कार्तिक १३ | मध्यान्ह ०४:०७ बजे

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लागेको बताएका छन् । आज विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेपालले यस्तो भनेका हुन् ।

उनले “हामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपी आफ्नै दम्भका कारण सत्ताको घोडाबाट भुईंमा बझारिएको” बताएका छन् । नेपालले २८ वर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पसमा अध्ययन गरी बैंकमा जागिर खाएको स्मरण गरे ।

पछि जागिर छाडेर राजनीतिमा लागेको र त्यसबेला एकजना रामचन्द्र यादव भन्ने व्यक्ति मोरङमा निकै सक्रिय रहेको भन्दै नयाँ पार्टीले नयाँ उत्साह दिएको बताए । उनले भने, “केही नेता गफ गर्छन तर पार्टीमा योगदान दिदैनन् । अन्यत्र कम्युनिष्ट आन्दोलन सकिए पनि जनतामा कम्युनिष्ट पार्टीप्रति जनताको अझै विश्वास छ ।” नेपालले केपी ओली तानाशाह बनेको तर एमाले पार्टी भने पनि त्यहाँ उनको नीतिसँगै जोडिएको बताए ।

ओलीको पछिपछि बयलगाडाको सोच भएका व्यक्तिहरु लागेको भन्दै उनले नयाँ विचार बोक्नेहरु आफ्नो पार्टीमा आउने जिकिर गरे । उनले एक हप्ताभित्र प्रदेश नं १ मा नेकपा (एस) को नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

कमेन्टहरु