आउने चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने माधव नेपालको दाबी


बिराटनगर । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताएका छन् । नेपालले अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरेका छन् ।
शनिबार बिराटनगरमा नेकपा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए । उनले अघि भने, ‘आज केपी ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ ।’
एमाले आफ्नै पार्टी भएपनि त्यहाँ ९ रेक्टस्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठन गरेको उनले बताए । सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी शिर्ष स्थानमा रहेको र एमाले भुईँमा पछारिएको उनले बताए । एमालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको नेपालको दाबी छ ।
अहिले भर्खर पनि बागमती प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एसका अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’






















