प्रचण्डको टिप्पणी : ओली प्रवृत्ति भनेको निरंकुश र प्रतिगमनकारी प्रवृत्ति हो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् ।
शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् । प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक रहेको भन्ने कुरा स्थापित भएपछि उनी बालुवाटारबाट बालकोट जानु परेको समेत बताए । उनले ओली बालुवाटारबाट बालकोट जानु ओलीको ठूलो पराजय भएको पनि बताए । अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए ।
प्रचण्डले मलामी जाँदा हाँस्ने ओली प्रवृत्ति भएको तर्क समेत गरे । ‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो’, प्रचण्डको भनाइ छ । उनले राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक भएको पनि बताए ।






















