नागढुङ्गा सुरुङमार्गमा सवारीको ठक्करबाट मजदुरको मृत्यु

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह ०३:०७ बजे

काठमाडौं । धादिङ – काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।
धुनिबेशी नगरपालिका-९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।
घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ । रासस






















