Opens in a new tab

राजनीति

श्रीमान मन्त्री बनेर एमाले भए, श्रीमति माओवादीमै रहेर मन्त्री बनिन्

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | बिहान १०:०७ बजे

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठन हुँदा नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान मन्त्री बनेकी छन्। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै मोक्तानले पनि मन्त्रीको शपथ लिएकी छन्। कुमारी यसअघि संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका दाबा लामाकी श्रीमती हुन्। नेकपा माओवादीबाट राजनीति शुरु गरेका श्रीमान्–श्रीमतीमध्ये श्रीमान् एमालेबाट स‌ंघीय मन्त्री बने भने श्रीमती अहिले माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेकी हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ खेमामा विभाजित भएको थियो। एटटा खेमाको नेतृत्व ओलीले गरेका थिए भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले गरेका थिए। माओवादी पृष्ठभूमिका दावा ओलीको साथमा उभिएका थिए। पार्टीमा विवाद चुलिँदा आफूलाई साथ दिएका दाबालाई तत्कालीन प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिएका थिए। संघीय संसद‌्को सदस्य नरहेको अवस्थामा पनि ओलीले दाबालाई क्याबिनेट मन्त्री बनाएका थिए। पछि २३ फागुन २०७७ मा ‘नेकपा’ नाम विवादको मुद्दामा सर्वोच्च अदालतले सुनाएको फैसलानुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिककै अवस्थामा पुन:स्थापित भएपछि दाबा एमालेतिरै लागेका थिए।

श्रीमान्‌ दाबाले मन्त्री पद कायम राख्न माओवादी छाडेर एमाले रोजे पनि कुमारी भने माओवादी केन्द्रमै थिइन्। परिवर्तित राजनीतिक परिस्थितिले एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन हुँदा कुमारी प्रदेशको सामाजिक विकास मन्त्री बन्न ‘सफल’ भएकी हुन्। दावा २०७४ मंसिरको चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवार थिए। तर, उनी चुनावमा पराजित भए। कुमारीले भने मकवानपुरलाई आधार बनाएर राजनीति गर्दै आएकी छन्। २०७४ सालको चुनावमा उनी मकवानपुर क्षेत्र न २ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन।

कमेन्टहरु