एमाले महाधिवेशनमा १,५३६ प्रतिनिधि हुने


काठमाडौं । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि हुने भएका छन्। जसमा ५१ प्रतिशत समावेशी र ४९ प्रतिशत खुलाबाट चयन हुनेछन्।
यसलाई केन्द्रीय कमिटीको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। प्रवक्ता ज्ञवालीले ३३ प्रतिशत महिलासहित जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडिएको वर्ग, दलितलगायत ‘क्लस्टर’का आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको जानकारी दिए।
स्थायी समितिको बिहीबार बसेको बैठकले तीन किसिमका प्रतिनिधिको व्यवस्था गरेको हो। उनका अनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग तथा केन्द्रीय सल्लाहकारबाट निश्चित पदेन प्रतिनिधि हुनेछन्। भूगोलबाट १ हजार १ सय ९६ जना आउनेछन्।
१ हजार ५ सय सदस्य रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ महिला र २ खुलासहित ३ र १ हजार सदस्यबाट १ जना प्रतिनिधि थपिनेछन्। प्रत्येक जिल्लाबाट १/१ दलित, प्रत्येक प्रदेश कमिटीबाट मजदुर १ जना प्रतिनिधि हुनेछन्। जनसंगठनबाट ५/५, केन्द्रीय विभाग/निकायलाई एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र मानेर तीन प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ।
त्यस्तै प्रवासबाट २०, पदेन प्रतिनिधि २ सय ६२ हुनेछन्। १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था गरिएको छ। विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि थिए। अबको महाधिवेशन चितवनस्थित नारायणी नदी किनारामा र बन्दसत्र सौराहामा गरिने तय भएको छ।
प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने व्यवस्था विधानमा छ। महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने ७ वर्ष भए पुग्नेछ। केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था छ।






















