विद्युत् महसुुलदर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको महासंघले गर्यो स्वागत


काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महसुुलदर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने विद्युत् नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।
कोभिडको संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुुग्ने महासंघको विश्वास छ । यसअघि विद्युत् डिमान्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको थियो । ऊर्जामन्त्री पम्फा भुसालले उद्योगको डिमान्ड शुल्क वृद्धि गर्ने तयारी भए पनि आफूले रोकेको बताइन् ।
महासंघले १२ असोजमा ऊर्जामन्त्रीलाई भेटी सुुझावसमेत दिएको थियो । महासंघको सुुझावअनुसार नै डिमान्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको हो । ‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रा भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत् महसुल न्यून गरी अन्य शुल्कसमेत हटाउँदै जानुुपर्ने र उद्योगहरूलाई सहुुलियत दरमा विद्युत् उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुुग्ने विश्वास महासंघको छ ।






















