अछाममा नेकपा एमालेको वडा अधिवेशन जारी, ४० वडामा सम्पन्न


अछाम । नेकपा एमालेको आशन्न १० औं महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन गर्ने क्रम जारी रहेको छ। कात्तिक ६ गते देशभरिका वडा अधिवेशनको भर्चुअल उद्घाटन गरिएकोमा उक्त दिन हुन नसकेका वडा अधिवेशन समेत धमाधम भइरहेका छन्। अछाम जिल्लाका विभिन्न वडामा अधिवेशन भइरहेको र हुने क्रममा रहेको नेकपा एमाले अछामले जनाएको छ।
जिल्लाका ९१ वडामध्ये हालसम्म करिब ४० बढी वडाको अधिवेशन भइसकेको नेकपा एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले बताए। विभिन्न वडामा अधिवेशन भइरहेको र बाँकी वडामा कात्तिक १४ गतेभित्र गर्ने गरी तयारी अघि बढाइएको उनले बताए। मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर केन्द्रको निर्देशनअनुसार पार्टीको आधार स्तम्भका रुपमा रहेका वडा अधिवेशनबाट वडा नेतृत्व चयन गर्ने कार्य समेत जारी रहेको एमाले कार्यालय सचिव केसीले बताए।
संगठित सदस्यता नवीकरण, शुल्क संकलन, पालिका प्रतिनिधि छनौटलगायतका कार्य वडा अधिवेशनबाट भइरहेको केसीको भनाई छ। पछिल्लो बेमौसमी वर्षा तथा सञ्चार माध्ययममा आएको अवरोधका कारण वडा अधिवेशनमा केही प्रभाव परेपनि आफ्नो पार्टीको चुस्त संगठनले सबै कार्य अघि बढाइरहेको कार्यालय सचिव केसीले बताए। यता जिल्ला सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका ५ मा नेकपा एमालेको वडा कमिटि चयन गरिएको छ। हरिपाले कामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सिद्धप्रसाद ढुंगानाले बताए।
वडा कमिटिको उपाध्यक्षमा रतन भाट, सचिवमा रुद्र बिक, उपसचिवमा सीता देवि ढुंगाना र छत्र बहादुर बोहरा निर्वाचित भएका छन्। यस्तै अधिवेशनबाट राष्ट्रिय युवा संघ नेपालको वडा कमिटि अध्यक्षमा भोजराज ढुंगाना निर्वाचित भएका छन्। यसैगरी पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानमा खडक बोहराको अध्यक्षतामा ३७ सदस्यीय नयाँ वडा कमिटि चयन गरिएको छ। यस्तै उक्त नगरपालिकाको वडा नम्बर ३ मा मदन अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्वाचित भएको छ।
एमाले जिल्ला कार्यवाहक अध्यक्ष नन्दसिंह कडायतले एमाले जनाताको पार्टी भएको भन्दै जनताको मायाले फेरि पनि राज्यको नेतृत्वमा पुग्ने दाबी गरे। पूर्व प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले गरेका कैयौँ जनप्रिय कामलाई स्थगित गरेको औँल्याए।मंगलसैन नगरपालिकाका हालसम्म ७ वडामा अधिवेशन सम्पन्न भएको एमाले सचिवालय सदस्य भीम बहादुर रावलले बताए।
बिहीबार वडा नम्बर ७ र १३ का वडा अधिवेशन भएको उनले बताए। नगरमा १५ गते नगर अधिवेशन गरिने उनको भनाई छ। यसैगरी रामारोशन गाउँपालिका १ मलातीकोटमा रतन साउँदको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ।






















