२० सदस्यीय प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री देउवा आज बेलायत जाँदै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधि मण्डल आज (शुक्रबार) बेलायत प्रस्थान गर्दै छ ।
१२ देखि २६ कार्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा नेपालको प्रतिनिधित्व गर्न उक्त टोली बेलायत प्रस्थान गर्न लागेको हो । गत असारमा प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलाई समावेश गरिएको छ ।
प्रधानमन्त्री नेतृत्वको टोलीमा वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै बेलायत जाँदै छन् ।
अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा भाग लिएपछि उनी कार्तिक १८ गते कतार एयरकै उडानबाट स्वदेश आउने कार्यक्रम तय भएको छ ।






















