राजीव ज्वेलर्समा लुटपाट गर्ने मुख्य योजनाकार पक्राउ


जनकपुरधाम, ११ कात्तिक । महोत्तरीको सम्सी गाउँपालिकाका एक परिवारमाथि आक्रमण गर्दै लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर २ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान रहेका छन् । उनलाई महोत्तरीको सोनमा गाउँपालिका वडा नम्वर ३ रघुनाथपुरमा घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पासवानसहितको समूहले गत असार ३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्वर १ पर्सा बजार बस्ने ५७ बर्षीय बिरेन्द्र साहले आफ्नो घरमा सञ्चालन गरेको राजीव ज्वेलर्समा ९–१० जनाको समुहले पसेर आक्रमण र लुटपाट गरेको थियो । पासवानसहितको समूहले साहको घरभित्र प्रवेश गरी साहकी पत्नी सुशिला देवी, छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीलाई रडले प्रहार गरी घाइते बनाएका थिए ।
सोही समूहले कटुवा पेस्तोलले वीरेन्द्रको ढाडमा गोली प्रहार गरी घाईते बनाउँदै ८ लाख ९७ हजार २ सय बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटेर लगेको थियो ।
महोत्तरी प्रहरीका अनुसार उक्त घटनामा संलग्न ब्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान नै रहेको अनुसधानको क्रममा देखिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए । डीएसपी बिष्टका अनुसार पासवान अन्य बिभिन्न अपराधिक घट्नामा संलग्न भएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । २०६६ बैशाख ७ गते पासवान सहितकाले सर्लाहीका राम किशोर महतोको साथमा रहेको नगद ७ लाख ५० हजार हतियार देखाउदै लुटेका थिए । यो मुद्दामा उनीबिरुद्ध सर्लाहीबाट डाँका तथा हातहतियार सम्बन्धी मुद्दा चलेको छ ।
२०६४ भदौ १९ गते लालबन्दीबाट नयारोड हरीवन तर्फ गई रहेको ना २ ख ८७८५ नम्बरको ट्रकलाई दलित जनजाति पार्टीका कार्यकर्ता दिलिप पासवान समेतका १४ जना अगाडिको सिसा फुटाई क्याबिनमा बम प्रहार गरी आगो लगाई क्षति पुर्याएको सम्बन्धी घट्नामा ईलाका प्रहरी कार्यालय, हरीपुर, सर्लाहीबाट पासवान समेत उपर बम बिष्फोटक शीर्षकमा मुद्दा चलेको देखिएको छ ।
यस्तै, पासवान सिरहाको मिर्चेयामा २०७३ साल असार १ गते भएको रु २ लाख १७ हजार बराबरको गहना लुटपाट, सर्लाही, धनगडीमाई वडा नम्वर ४ बस्ने प्रदिप कुमार साहको घर÷कोठामा प्रवेश गरी कुटपिट गर्दै अपहरण गर्न खोजेको घट्नामा तथा रुपन्देहीमा गरगहना लुटपाट गरेको घट्नामा उनीबिरुद्ध मुद्दा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।






















