आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला


काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” काँग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ । फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ, विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।”
महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताइन् । काँग्रेस भित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् ।
पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।” रासस






















