नेपालसँग थप ३ वर्षको सम्झौता गर्न नेपाली फुटबल टिमका प्रशिक्षक अल्मुताइरी सहमत


काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप ३ वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण गर्ने नयाँ सम्झौतामा सहमत भएका छन् । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् ।
अल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिम ऐतिहासिक रुपमा पहिलो चोटि साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलसम्म पुग्न सफल भएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले त्यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । त्यसपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधारले माल्दिभ्समै पुगेर नेपाल फर्किन आग्रह गरेका थिए । अल्मुताइरी भने नेपाली टिमसंग फर्किएनन् र कतार लागे ।
एन्फा अध्यक्ष शेर्पाले कतार पुगेरै उनीसँग भेट गरे । कतार फुटबल संघसँग पनि छलफल गरेपछि अल्मुताइरीले आफ्नो निर्णयलाई परिवर्तन गर्दै नेपाल आउने बताएका हुन् । तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत भएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं । नेपाली फुटबललाई अर्को स्तरमा पुर्याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’
गत चैतमा कतार फुटबल संघको सहयोगमा अल्मुताइरी एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जुनमा अल्मुताइरीसँग २०२२ सेप्टेम्बरसम्मका लागि नयाँ सम्झौता गरेको एन्फाले बताएको छ ।






















