सेप्टेम्बर ३० देखि सञ्चालन हुने नयाँ यात्रुवाहक रेल सेवाका लागि यात्रुले सिट बुक गर्न सक्ने

दुबई, यूएई |
संयुक्त अरब इमिरेट्स (यूएई) मा दुबई र अबुधाबीलाई जोड्ने नयाँ यात्रुवाहक रेल सेवाका लागि टिकट बुकिङ खुला गरिएको छ। Etihad Rail ले यात्रु सेवाअन्तर्गत दुबई–अबुधाबी यात्राका लागि पहिलोपटक अग्रिम सिट बुकिङको सुविधा उपलब्ध गराएको हो।
नयाँ रेल सेवा सेप्टेम्बर ३०, २०२६ देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। दुबईको Jumeirah Golf Estates स्थित Al Yalayis Station बाट रेल सेवा सुरु हुनेछ भने अबुधाबीको Mohammed Bin Zayed City Station सम्मको यात्रा करिब ५७ मिनेटमा पूरा हुने अपेक्षा गरिएको छ।
दुबईमा निर्माण गरिएको Al Yalayis Station Jumeirah Golf Estates Metro Station नजिकै रहेकाले यात्रुले दुबई मेट्रोसँग पनि सहज रूपमा रेल सेवा जोड्न सक्नेछन्। यसले दुबईभित्र तथा दुबई–अबुधाबीबीच सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
Etihad Rail का अनुसार यसअघि सञ्चालन गरिएको अबुधाबी–फुजैराह यात्रुवाहक रेल सेवा अन्तर्गत मात्रै ७० हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्।
दुबई–अबुधाबी नयाँ रेल सेवाले दुई प्रमुख शहरबीचको यात्राको समय घटाउनुका साथै सार्वजनिक यातायातलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।























