राजनीति

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो : देउवा

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०१:०७ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने ओलीको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् ।

बुधबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा देउवाले भने,`परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।´ मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।

संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै देउवाले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने बताए । उनले अघि भने, ‘न्यायालय सम्बन्धमा जे उठेका सवालहरु छन्, त्यसबारे सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन ।’

साथै देउवाले गजेन्द्र हमाल कांग्रेसको मान्छे भएको र बस्न नसक्ने भएपछि राजीनामा दिएको समेत दाबी गरे । ‘यो कुरा सिढिसकेको थियो, तर कुरा उठाको उठाई छन्,’ उनले अघि भने, ‘अदालतबारे हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

कमेन्टहरु