देश

प्रदेश २ को छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ

जगत ठाडा मगर
२०७८ कार्तिक ९ | बिहान ११:०७ बजे

जनकपुरधाम, ०९ कात्तिक । प्रदेश २ को सिरहा र महोत्तहरीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् । सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ ।
वडा अध्यक्षले आफू नजिकैको होटलमा खाजा खान गएको बखत मोटरसाइकलमा कसले के गरेको हो भन्नेबारेमा आफूलाई थाहा नभएको प्रतिकृया दिएको प्रहरीको भनाई छ ।

अहिलेसम्म मोटरसाइकल र वडा अध्यक्ष माडरमै रहेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ बाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १२ प. १४४९ नम्बरको मोटरसाईकलमा सबार बर्दिबास नगरपालिका १ बस्ने ३२ बर्षीय पंकज साह र सोही ठाउँका ३१ बर्षीय रंजित थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एक्सिप्लोन सय एमएलको ११ बोतल, स्पास्मो प्रोक्सिभोन १६ ट्याब्लेट, र नाइट्राभेट ६० ट्याब्लेट बरामद भएको छ । यसैगरी, औरही नगरपालिका ४ कबिलासाबाट लागूऔषधसहित एक जना पैदल यात्रीलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ घर भई बर्दिबासमा डेरा गरी बस्ने २९ बर्षीय जीवन तामाङलाई नाइट्राभेट–१० नामक ट्याब्लेट १ सरय ५० थान, डाइजेल्याब ३ थान र फेनारगन ३ थानसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु