टी–ट्वान्टी विश्वकप : अफगानिस्तानको विजयी सुरुवात


काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ।सारजाहमा सोमबार भएको खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गरेको हो।
अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो। स्कटल्याण्डका जर्ज मुन्सेले २५ तथा क्रिस ग्रेभिसले १२ रन बनाए कप्तान केली कोट्जरले १० रन बनाउँदा अन्यले खोहोर अंकमा रन जोड्न सकेनन्।
अफगानिस्तानका मुजिब उर रहमानले ५ तथा राशिद खानले ४ विकेट लिए। नभिन उल हकको नाममा १ विकेट रह्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।
अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रन बनाएका थिए। रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए।
मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए। स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले १÷१ विकेट लिए। जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ।






















