पाँचथरमा बस दुर्घटना हुँदा ६५ जना घाइते

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । पाँचथरमा बस दुर्घटना हुँदा ६५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
सोमबार फिदिम नगरपालिका–४ सिवा दोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले उनीहरुलाई उद्धार गरी पाँचथर जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि विर्तामोड पठाइएको छ ।
दशैंमा घर तथा आफन्त कहाँ गई फर्कंदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।






















