देश

गायिका समीक्षा अधिकारी र मेरो सम्बन्धको गलत प्रचारले दुःखी बनाएको छ : पल शाह

जगत ठाडा मगर
२०७८ कार्तिक ८ | मध्यान्ह १२:०७ बजे

काठमाडौ । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा सार्वजनिक भएको गलत समाचारबाट आफूलगायत आफ्नो परिवार र आफुलाई माया गर्ने सिंगो दर्शक दिर्घ नै दुःखी बनेको बताएका छन् ।

पलले सामाजिक संजालमा स्टाटस लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ । अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ ।’

पलले, कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी समाचार नबनाइदिन मिडियासँग आग्रह पनि गरेका छन् । उनले लेखेका छन “गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिंगो पत्रकारितालाई बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।” पलले, यदि आफूले जानेर वा नजानेर कसैको चित्त दुखाएको भए माफी चाहन्छु समेत भनेका छन् ।

कमेन्टहरु