देश

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

जगत ठाडा मगर
२०७८ कार्तिक ३ | मध्यान्ह ०६:०७ बजे

काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।पछिल्लो ४ दिन यताको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।

एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए । त्यस्तै घर, बसोबास विस्थापित भएर खाद्यान्नसमेत नभएका परिवारलाई ५ जनासम्म भए प्रति परिवार १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजारको दरले राहत दिने निर्णय पनि गरेको छ ।

मन्त्री कार्कीले बाढी पहिरोबाट प्रभावित हुनेहरुको सम्पूर्ण व्यवस्था सरकारले नै गर्ने निर्णय गरेको पनि जानकारी दिए । बाढी, पहिरो र डुवानको क्षतिको आँकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्ने, अत्यावश्यक भौतिक संरचनाको मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

बासस्थान भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार

गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई सरकारले प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकले वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्‍याएको स्थानमा आफैँ गएर निरीक्षण गर्ने पनि बताएका छन् ।

कमेन्टहरु