पहिरोमा परी इलामको छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु


काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा परी इलाममा तीनजनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीनजनाले ज्यान गुमाएका हुन् ।
मंगलबार राति करिब १२ देखि २ बजेको समयमा गएको पहिरोका कारण जिल र मेहेलबोटेमा तीनजनाको मृत्यु भएको जनाइएको छ । नेपाली कांग्रेस सूर्योदय नगरपालिका–३ का सचिव धड्कन शर्माका अनुसार मंगलबार रातिको पहिरोमा परी बेपत्ता भएका तीनजनाको बुधबार शव भेटिएको हो ।
मेहेलबोटेका ४५ वर्षीय मीरा दर्जीको शव बिहान १० बजेतिर र सूर्योदय–३, जिलका ४९ वर्षीय विष्णुमाया तामाङ र उनका छोरा १८ वर्षीय विशाल तामाङको बिहान ११ बजेतिर शव फेला परेको शर्माले बताए ।
“राति १२ बजेदेखि २ बजेसम्म गएको पहिरोमा उनीहरू बेपत्ता भएका थिए, अहिले दुई घण्टाभित्र उनीहरूको शव फेला पर्यो,” शर्माले भने, “राति नै थाहा पाएर बस्तीका अन्य घर–परिवारहरू सुरक्षित स्थानमा सारिएको थियो ।”
नयाँबजार–फिक्कल जोड्ने मयुखोलास्थित पक्की पुल बगाएको पनि उनले बताए । शर्माले भने “हाम्रै नगर र जिल्लामा पनि धेरै क्षति भएको छ, तर विद्युत् गएका कारण सञ्चार सेवा अवरुद्ध भएकाले कहाँ कति क्षति भयो भन्ने तथ्यांक संकलन हुन सकेको छैन,” ।






















