जिसस सदस्यको निधनमा शुक्लाफाँटा नगरपालिकाले दिए सार्वजनिक बिदा

जगत ठाडा मगर
२०७८ भदौ ३१ | बिहान ०८:०५ बजे

कञ्चनपुर । जिल्ला समन्वय समिति सदस्यको निधनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले आज एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मनाउन बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको थियो ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित भएका थिए । रासस






















