Opens in a new tab

यातायात

सिद्धार्थ राजमार्ग को पाल्पा–बुटवल खण्ड पूर्ण अवरूद्ध

नवलपुर टुडे
२०८३ अशोज ९ | मध्यान्ह ०२:०६ बजे

तानसेन, असोज ९ । अविरल वर्षाका कारण पहिरोसहित ढुङ्गा खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड बन्द भएको छ । तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको हो ।

सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–५ स्थित चरचरे र जोरधाराको बिचमा पनि वर्षाका कारण माथिबाट पहिरो खस्दा बाटो अवरूद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षातले पाल्पाको ग्रामीण सडक सञ्जालमा समेत पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बिच बतासेबाट रैनादेवी छहरा गाउँपालिका जोड्ने भित्री सडकखण्डमा वर्षापछि खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् । पहिरो गएका सबै स्थानमा सडक खुलाउनका लागि आवश्यक समन्वय र पहल भइरहेको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले अवरोध हटाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा पूर्ण सजगता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा क्षेत्रमा राति यात्रा प्रशासनले रोक लगाएको जनाएको छ ।

कमेन्टहरु