Opens in a new tab

पर्यटन

धवलागिरि हिमाल आरोहण टोली फर्कियो

रासस
२०८३ अशोज ९ | बिहान ०७:०६ बजे

म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका पर्वतारोही फर्किएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर क्षेत्रमा पुगेका पर्वतारोहीको टोली प्रतिकूल मौसमका कारण फर्किएका हुन् ।

आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको पर्वतारोही टोली बिहीबार फर्किएको जानकारी दिए ।

“असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उनले भने, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”

केही पर्वतारोही भने हेलिकोप्टरबाट पोखरा पुगेको शेरचनले बताए । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेका थिए ।

उक्त टोलीले बिहीबारदेखि मौसम प्रतिकूल हुन थालेपछि आरोहणलाई स्थगित गरेर सुरक्षित ठाउँमा फर्कने निर्णय गरेको शेरचनले बताए ।

कमेन्टहरु