Opens in a new tab

देश

राजन महर्जन जसले २० वर्षमा १० हजार कन्या कुमारी पूजा गरे

पत्रपत्रिकाबाट
२०८३ अशोज ९ | बिहान ०७:०६ बजे

‘२० वर्ष भयो । कुमारीपूजा सुरु गरेको । हालसम्म करिब १० हजार कुमारीलाई पूजा गरेको रेकर्ड मसँग छ  ।  यो पूजाले सबै कुमारीको सबैको रक्षा भएको छ । विश्वशान्ति, स्वयं कुमारी र उनको परिवारको सुस्वास्थ्यको कामना गर्दै आयोजना भएको पूजामा देश विदेशबाट उल्लेखनीय उपस्थिति भएको थियो’ –आयोजक महर्जनले भने ।  ‘विसं २०६४ सालमा कुमारी घर निर्माणको २५० वर्षको ऐतिहासिक उपलब्धिपछि पूजा सुरु भएको हो  । हालसम्म सो कार्यलाई निरन्तरता दिएका छौं’ – महर्जनले  भने ।

राजन महर्जन हनुमानढोका क्षेत्रका अभियन्ता, युवा विश्वहिन्दु महासंघका अध्यक्ष हुन उनी । हरेक जात्रा र पर्वको विषयमा जानकार रहेका उनले देशको धर्म संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेलेका छन् । हरेक चाडपर्वमा उनको उपस्थिति महत्वपूर्ण  हुन्छ ।

विशेषगरी विश्व सम्पदाक्षेत्र संरक्षणमा उनको महत्वपूर्ण योगदान छ । योगदान त्यति नै छ । मूलतः इन्द्रजात्रा पर्व आउनासाथ उनको सम्झना बढी हुन्छ । हरेक इन्द्रजात्रामा उनले आयोजना गर्ने  कुमारी पूजाले सबैको मन खिचेको छ ।

देश विदेशबाट कुमारी पूजा गर्न आउने गरेका छन् । रजस्वला नभएका कन्या कुमारीको पूजा हुने भएपछि छोरी र नातिनी लिएर हनुमानढोकास्थित तलेजु भवानी परिसरमा कुमारी पूजामा सहभागी हुन आउनेको हुल लाग्ने गरेको छ ।

74EEE479 7991 457D AF6B E95794600E1F 768x768 1

यो वर्ष इन्द्रजात्रा अघिल्लोदिन बिहीबार अभियन्ता महर्जनले  ५०४ कुमारीपूजा सम्पन्न गरेका छन् । पूजामा देशभरका कुमारीले सहभागिता जनाएका थिए । नेवारी परम्परामात्र होइन । हिन्दु परम्परामा हुर्किएकी कुमारी पूजामा सहभागी भएका थिए ।

‘२० वर्ष भयो । कुमारीपूजा सुरु गरेको । हालसम्म करिब १० हजार कुमारीलाई पूजा गरेको रेकर्ड मसँग छ  ।  यो पूजाले सबै कुमारीको सबैको रक्षा भएको छ । विश्वशान्ति, स्वयं कुमारी र उनको परिवारको सुस्वास्थ्यको कामना गर्दै आयोजना भएको पूजामा देश विदेशबाट उल्लेखनीय उपस्थिति भएको थियो’ – आयोजक महर्जनले भने ।

वि सं २०६४ सालमा कुमारी घर निर्माणको २५० वर्षको ऐतिहासिक उपलब्धिपछि पूजा सुरु भएको हो  । हालसम्म सो कार्यलाई निरन्तरता दिएका छौं – महर्जनले  भने ।

५०४ कुमारी पूजाको विधि र प्रक्रिया फरक छ । हिन्दुधर्म परम्परा, तान्त्रिक, वज्रयान गरी तीनै पद्धतिबाट पूजा गरिने छ ।
गोजा (गहुँको पिठोको डल्लो) हुन्छ । पुजारीले गोजालाई शक्तिमन्त्रद्वारा जगाएर कुमारीहरूलाई चढाउने गर्छन् । त्यसबाट नकारात्मक दृष्टिबाट रक्षा हुने जनश्रुति छ । गोजा चढाउनाले बालबालिका वा कुमारीहरूलाई आँखा नलाग्ने, कुदृष्टि र नकारात्मक प्रभावबाट जोगिने र रक्षा हुने धार्मिक विश्वास रहेको छ
।

तान्त्रिक विधिमा बालबालिकाको सुरक्षा र शक्तिको प्रतीकका रूपमा गोजाको विशेष महत्व छ
। नवदुर्गाको प्रतीकको रूपमा सुरुमा दर्ता भएका नवदुर्गाको रूपमा ९ कन्याको पूजा गरिन्छ । त्यसपछि क्रमैसँग सबै कुमारी कन्याको पूजा हुन्छ ।

कुमारीको विशेष पूजा गरेपछि हासको अण्डा, दही, माछा र समयबजी सगुन दिइन्छ ।  सामाजिक समावेसितामा अडिएको कुमारी पूजा गर्दा जातिपातको भेदभाव नगरी ७७ वटै जिल्लाका कन्याहरूलाई सहभागी गराइने व्यवस्था गरेको छ ।

‘यो कार्यक्रम नितान्त व्यक्तिगत रूपमा सञ्चालन हुन्छ । दुई दशक पुग्यो सरकारी खर्च लिएका गरेका छैनौं । स्वैच्छाले कुमारीको नाममा सहयोग गर्नेले दिएको सहयोग लिने गरेका छांै – आयोजक महर्जनले भने ।

युवा विश्व हिन्दू महासंघद्वारा आयोजित धार्मिक कार्यक्रम हो यो । कुनै सरकारी वा गुठीको अनुदान नलिई व्यक्तिगत सहयोगबाट गरेका हौ । कुमारीपूजावापत प्रतिकन्या १ हजार ५०० रुपियाँ सहयोग लिने गरेका छांै । गुरुदक्षिणा, कन्याका दुईजनालाई परिवारलाई समयबजीसहित नेवारी भोजनको व्यवस्था गरेका छांै ।

१५ सय रुपियाले केही खर्च पुग्दैन । कुमारीलाई उपहार दिँदा, पूजा सामग्री खरिद गर्दा सबै रकम सकिन्छ । करिब १५ लाख रुपियाँ जति खर्च हुन्छ । बल्लतल्ल धानिरहेका छांै–महर्जनको भनाइ छ ।

मूल पूजा सुरु गर्दा श्री भैरव र श्रीगणेशको पनि पूजा गरिन्छ । त्यसपछि नौ कन्याहरूलाई नवदुर्गाको रूपमा विशेष पूजा गरिन्छ
। कुमारी पूजा गर्दा जजङ्का (जजंका) र सगुन अर्पण गरिन्छ । पूजाका क्रममा कुमारीहरूलाई रातो धागो र ध्वजाको जजङ्का लगाइन्छ ।

सगुनका रूपमा हाँसको अण्डा, छ्याङ र माछा अर्पण गरिन्छ । पूजा सकिएपछि कुमारीहरू र उनीहरूका अभिभावकलाई समयबजी (जसमा चिउरा, कालो मास, तोरीको साग, आलु, बोडीको अचार आदि हुन्छ) खुवाइन्छ ।

भक्तजनहरूले आफ्नै श्रद्धाअनुसार कुमारीहरूलाई चकलेट, कलम, कापी तथा दक्षिणा चढाएर आशीर्वाद लिन्छन् । यस कुमारी पूजामा देशभरका बालबालिकाको सहभागिता  हुन्छ ।

नेपालमा कुमारी पूजाको ऐतिहासिक पृष्ठभूमि अनुसार
राजा गुणकाम देवको योगदान मुख्य छ । जनमानसमा राजा जयप्रकाश मल्लले कुमारी परम्परा चलाएको भनाइ रहे पनि ऐतिहासिक रूपमा राजा गुणकामदेवले आफ्नो नगरको रक्षाका लागि ३२ टोलमा ३२ जना कुमारीको स्थापना गरी यसको सुरुवात गरेका हुन् ।
नेपालको पहिलो कुमारी तारनेबहालको मानिन्छ, जसको स्थापना शंकरदेवले गरेका थिए ।

जयप्रकाश मल्लको प्रसङ्ग आजभन्दा करिब २६० वर्ष अगाडि राजा जयप्रकाश मल्लले राज्य रक्षाका लागि तलेजु भवानीको प्रतीकका रूपमा कुमारी परम्परालाई विशेष मान्यता र निरन्तरता दिएका थिए
।
हनुमानढोकाको कुमारी पूजाको सन्दर्भमा भन्नुपर्दा कोरोना महामारी र कडा लकडाउनका समयमा पनि पूजालाई नरोकी निरन्तरता दिइएको थियो
।

यो वर्ष पनि कुमारी पूजालाई निरन्तरता दिएको छ । महर्जनसँगै उनको परिवार पनि पूजामा लागेका छन् । करिब एक महिनादेखि पूजामा सहभागी हुने कुमारीको नाम दर्ता गरिन्छ ।

आज इन्द्रजात्रा मनाइरहँदा कुमारीपूजाको विशेष महत्व रहेको महर्जन बताउँछन् । इन्द्रजात्राको अघिल्लो दिन कुमारीपूजा गरेपछि जीवितदेवी कुमारीको शक्ति बढ्ने विश्वास छ ।

देश र जनताको सुख र शान्तिको कामना गर्दै हरेक वर्ष हुने गरेको कुमारी पूजाले इन्द्रजात्राको रौनकमात्र बढाएको छैन ।  धर्म संस्कृति जर्गेना र सम्पदा संरक्षण गर्न महत्वपूर्ण भूमिका खलेको छ ।

कमेन्टहरु