लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध


बनेपा, असोज ९ । अविरल वर्षासँगै बीपी राजमार्गका विभिन्न स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार बिहान ४ः३० बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ चारसयवेशी र वडा नं. ८ गिम्दीवेशीमा सडक माथिबाट पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको हो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अविरल वर्षासँगै रोशी खोलाको पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको बताउनुभयो। उहाँले जलसतहले सतर्कता तह पार गरेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो।
उहाँले लेदोसहितको पहिरोका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र वर्षाका कारण पहिरो हटाउने कार्यमा समेत बाधा पुगेको बताउनुभयो। उहाँले राजमार्गमा यात्रा गर्नुअघि स्थानीय प्रहरी वा प्रहरीको सञ्चार नम्बर १०० तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीओसीई) को १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभयो।






















