Opens in a new tab

समाज

अन्नपूर्ण गाउँपालिकामा लगातार तेस्रो वर्ष घरमा हुने प्रसूति शून्य, घटे मातृ-शिशु जोखिम

रासस
२०८३ अशोज ७ | मध्यान्ह १२:०६ बजे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम राख्न सफल भएको छ।

मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले पालिकाले घरमा प्रसूति हुने सङ्ख्या शून्य बनाएको हो।

असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्य सुधार्न गरिएको प्रयास स्वरूप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले बताए। अन्नपूर्णका सबै गर्भवतीले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामै पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको र यसलाई निरन्तरता दिन सचेतनामूलक कार्यक्रमलाई अघि बढाइएको जानकारी उनले दिए।

पालिकामा आर्थिक वर्ष २०८२/८३ मा ९१ जना, २०८१/८२ मा ७९ र २०८०/८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्। गत आवमा सुत्केरी भएका ९१ जनामध्ये २५ जनाले गाउँपालिकाभित्रकै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गरेका थिए। यसअघि आव २०७९/८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए। त्यसैगरी आव २०७८/७९ मा पालिकाका १२७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए।

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने परिपाटी अन्त्य गर्न पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ। तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन तथा स्वास्थ्य र पोषण सुधार्न यो कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन्।

गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरी भएपछि घरमै पुगेर भाले दिने गरिएको उनले जानकारी दिइन्। तोकिएको मितिमा चारपटक गर्भ परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले उपहार दिने गरेका छन्। सुत्केरी भएपछि पनि तीनपटक जाँच गराउनेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पीठो र बच्चालाई न्यानो कपडा उपलब्ध गराइँदै आएको छ। यस प्रयासबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ एवं स्याहारसुसारमा जागरण आएको छ।

आठ वडा रहेको अन्नपूर्णको दोवा र दानाबाहेक भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र सञ्चालनमा छन्। साथै वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्रबाट सेवा दिइँदै आएको छ।

कमेन्टहरु