पोखरामा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन


कास्की । सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले गत असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा उक्त पसल सञ्चालन गरेको हो।
सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु १०० मा बिक्रीका लागि राखिएको छ। एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ। बजारमा चिनी प्रतिकेजी रु १४० मा बिक्री भइरहेका बेला सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ।
पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा सस्तोमा खाद्य सामग्री खरिद गर्न पाएको बताइन्। यस्तो महँगीको समयमा सस्तोमा सामान किन्न पाउँदा खुसी लागेको र खासगरी चिनी यहाँ धेरै नै सस्तो रहेको उनले उल्लेख गरिन्।
गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय रहेका छन्। दुवै कार्यालयबाट उपभोक्ताले सहुलियत दरमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ। साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका बेला सुपथ मूल्यका पसल सञ्चालन गरी नागरिकलाई सहुलियतमा खाद्य सामग्री बिक्री गर्दै आएको छ।






















