घटना

बर्दियामा गुड्दागुड्दै ईभि हाइसमा आगलागी

नवलपुर टुडे
२०८३ अशोज ४ | बिहान १०:०६ बजे

बर्दिया । बर्दियास्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय सवारी साधन (EV) हाइसमा अचानक आग’लागी भएको छ । कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको भाडाको फोटोन EV हाइसमा आइतबार बिहान आगलागी भएको हो।

बर्दियाको बारबर्दिया नगरपालिका-७ स्थित रम्मापुर, ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा आज बिहान करिब ६:५० बजे गुडिरहेको अवस्थामा हाइसमा एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी दिए।

प्रहरीका अनुसार आगलागीका बेला गाडीमा चालक र सहचालक मात्र थिए। गाडी कैलालीको धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। यात्रु नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

आगलागीबाट गाडीमा रहेका सवारी कागजात र नगद ४२ हजार रुपैयाँ जलेर पूर्ण रूपमा नष्ट भएको छ। घटनालगत्तै पुगेको प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले बताए।

आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नपुगेको र सडक नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु