स्वास्थ्य

नवलपरासीको सरकारी अस्पतालमा विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा सेवा प्रभावित, बिरामी महँगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य

नवलपुर टुडे
२०८३ अशोज २ | मध्यान्ह ०६:०६ बजे

नवलपरासी, असोज   नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लामो समयदेखि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरू मारमा परेका छन्।

अस्पतालमा कार्यरत विशेषज्ञ रेडियोलोजिस्ट डा. प्रकाश ढकाल गत वैशाखमा काज फिर्ता भई गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी गएपछि हालसम्म कुनै पनि विशेषज्ञ रेडियोलोजिस्ट आएका छैनन् । दरबन्दी भए पनि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा अस्पतालबाट प्रदान गरिने महत्त्वपूर्ण विशेषज्ञ रेडियोलोजिस्ट सम्बन्धि  स्वास्थ्य सेवाहरू प्रभावित बनेका हुन् ।

अस्पताल प्रमुख डा. बृज यादवका अनुसार हाल सामान्य खालका सेवाका लागि मेडिकल अधिकृतबाट काम चलाउँदै आइए पनि विशेषज्ञ रेडियोलोजिस्टको अभावमा मुख्य-मुख्य जटिल सेवाहरू अवरुद्ध भएका छन्।

“विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा घाटीको भिडियो एक्सरे, पेटबाट पानी निकाल्ने लगायतका विविध जटिल तथा मुख्य सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्,” डा. यादवले भन्नुभयो।

वि.सं. १९६८ (सन् १९११) मा स्थापना भएको पृथ्वीचन्द्र अस्पताल साबिक नवलपरासी क्षेत्रकै सबैभन्दा पुरानो तथा ऐतिहासिक सरकारी अस्पताल हो । एक शताब्दीभन्दा बढीको इतिहास बोकेको यो अस्पताल सुरुमा सानो प्राथमिक उपचार केन्द्रका रूपमा सञ्चालनमा आएको थियो। पछि वि.सं. २०७३ सालमा १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भई यो लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय मातहत ‘सेकेण्डरी ए लेभल’ को मुख्य रिफरल अस्पतालका रूपमा विकास भयो। हाल स्वीकृत क्षमता ५० शैया भए पनि बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै अस्पतालले ८२ शैया सञ्चालन गर्दै आएको छ भने निकट भविष्यमै १०० शैया पुर्याउने लक्ष्य राखेको छ।

बिरामीहरुले सरकारी अस्पतालमा सेवा नपाउँदा सास्ती व्यहोर्नुपरेको छ । “तर यहाँ रेडियोलोजिस्ट नै हुनुहुन्न भन्दै फर्काइन्छ । सामान्य सेवाका लागि पनि प्राइभेट बुटवल, भैरहवा धाउनुपर्ने बाध्यता छ। प्राइभेटमा दोब्बर-तेब्बर महँगो शुल्क तिर्नुपर्छ, हामी गरिबले कहाँबाट पैसा ल्याउनु?”  दुःखेसो  छ  ।

त्यस्तै अर्का बिरामी पेटको समस्या लिएर उपचारका लागि आएका, “अस्पताल पुरानो र ठूलो छ भनेर आशा बोकेर आउँछौँ । तर, पेटको जटिल भिडियो एक्सरे र अन्य परीक्षणका लागि बाहिरै जानुपर्छ भन्छन् । बिरामीहरुका अनुसार एम्बुलेन्स खर्च र प्राइभेटको महँगो जाँचले गर्दा ऋण खोजेर उपचार गराउनुपर्ने अवस्था आएको छ ।    सरकारले तुरुन्त डाक्टरको व्यवस्था गरिदिनुपर्‍यो।”

नागरिक समाजका  अगुवाहरूले ऐतिहासिक अस्पतालको यस्तो विजोग हुनु दुखद भएको बताएका छन्। सरकारी निकायको ध्यान नपुग्दा सर्वसाधारण नागरिक मौलिक स्वास्थ्य अधिकारबाटै वञ्चित हुनुपरेको उनीहरूको भनाइ छ।

यस्तै   नागरिक समाज, पश्चिम नवलपरासीका  संयोजक बेचु गौडले जिल्लाको मुख्य रिफरल अस्पतालमै विशेषज्ञ डाक्टर नहुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। “एक शताब्दीभन्दा बढी इतिहास बोकेको पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा सर्वसाधारणले पाएको सास्तीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

वैशाखदेखि डाक्टर नहुँदा पनि प्रदेश र सङ्घीय सरकारले वैकल्पिक व्यवस्था नगर्नु लापर्बाही हो,” संयोजक गौडले भन्नुभयो, “हामीले प्रदेश स्वास्थ्य मन्त्रालय र सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तुरुन्त विशेषज्ञ रेडियोलोजिस्ट पठाउन  माग  गर्दछौँ।

पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र जिल्ला अस्पताल र चिसापानी अस्पताल गरी दुईवटा प्रमुख सरकारी अस्पतालहरू रहेका छन्। तर, जिल्लाका कुनै पनि सरकारी अस्पतालमा हाल विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा समग्र जिल्लाकै स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित भएको छ।

सरकारी अस्पतालमा विशेषज्ञ सेवा नपाएपछि सर्वसाधारण तथा गरिब बिरामीहरू भिडियो एक्सरे र अन्य विशिष्ट निदानका लागि छिमेकी जिल्ला रुपन्देही र चितवनका निजी अस्पताल तथा डाइग्नोस्टिक सेन्टरहरूमा गएर महँगो शुल्क तिर्न बाध्य भएका छन्।

यस विषम परिस्थितिमा सङ्घीय (केन्द्र) सरकार तथा प्रदेश सरकारले आवश्यक सहजीकरण गरी तत्काल कन्सल्टेन्ट रेडियोलोजिस्टको व्यवस्था गरिदिएमा यहाँका जिल्लावासीले सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने थिए । स्थानीयहरूले पनि रोकिएका सेवाहरू शीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

कमेन्टहरु