विश्व

नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो, संख्या भने रेकर्डमा अहिलेसम्म एउटै मात्र

एजेन्सी
२०८३ अशोज २ | बिहान ०७:०६ बजे

बोलिभिया । दक्षिण अमेरिकी देश बोलिभियाको जङ्गलमा वैज्ञानिकहरूले नयाँ जङ्गली बिरालो प्रजाति पहिचान गरेका छन् । लियोपार्डस तिलकायो नाम दिइएको यो सानो बिरालो प्रजातिको जीवित अवस्थामा हालसम्म एउटा मात्र सदस्य फेला परेको छ ।

वैज्ञानिकहरूले नयाँ प्रजातिको नाम टिल्काया क्याट राखेका छन् भने बोलिभियाको एक वन्यजन्तु उद्धार केन्द्रमा रहेको १० वर्षे बिरालोलाई ‘टिग्रिनो’ उपनाम दिइएको छ ।

घरपालुवा बिरालोको आकारजस्तै देखिने यो जनावरको शरीरमा चितुवाको जस्तो धब्बा र निधारमा धर्का छन् । यही कारणले यसलाई लामो समयसम्म दक्षिण तथा मध्य अमेरिकामा पाइने अन्य साना जङ्गली बिरालो नै होला भनेर झुक्किएको थियो ।

तर नयाँ आनुवंशिक अध्ययनले यो बिरालो अन्य प्रजातिभन्दा फरक रहेको देखाएको छ । अनुसन्धानकर्ताहरूले जीवित बिरालोका साथै संग्रहालयमा सुरक्षित गरिएका नमुनाबाट डीएनए संकलन गरी ‘टाइगर क्याट’ समूहको वंशावली अध्ययन गरेका थिए ।

बोलिभियाको ला पाजस्थित युनिभर्सिडाड मृयर डि सान एम्ड्रेसकी वैज्ञानिक पाओला नोगालेस–अस्कारुनजले उद्धार केन्द्रमा स्वयंसेवा गर्ने क्रममा टिग्रिनो अन्य बिरालाभन्दा फरक देखिएको पत्ता लगाएकी थिइन् ।

टिग्रिनोलाई एक स्थानीय बासिन्दाले जङ्गलमा फेला पारेका थिए । सुरुमा उनले त्यसलाई घरपालुवा बिरालोको बच्चा ठानेका थिए । तर ठूलो हुँदै गएपछि त्यसको व्यवहार घरपालुवा बिरालोको भन्दा निकै फरक रहेको देखियो ।

नोगालेस–अस्कारुनजले बोलिभियाको युङ्गास क्षेत्रका घना जङ्गलमा यस्तै साना जङ्गली बिरालो देखिएको स्थानीय अभिलेख र भनाइबारे पनि जानकारी पाएकी थिइन् । तर ती घटनाको वैज्ञानिक अनुसन्धान भने भएको थिएन ।

यसपछि उनले विभिन्न देशका अनुसन्धानकर्तासँग मिलेर टाइगर क्याट समूहको आनुवंशिक तथा वंश विकाससम्बन्धी अध्ययन अघि बढाइन् ।

ब्राजिलका संरक्षण आनुवंशिकीविद् एडुआर्डो इजिरिकका अनुसार पर्याप्त नमुना, तस्बिर र संग्रहालय अभिलेखको अभावका कारण यो प्रजाति लामो समयसम्म वैज्ञानिक अनुसन्धानको नजरबाट बाहिर रह्यो ।

‘टाइगर क्याट’का पाँच प्रजाति

tt

अनुसन्धानले नयाँ प्रजाति पत्ता लगाउनुका साथै टाइगर क्याट समूहबारे यसअघिको बुझाइ पनि परिवर्तन गरेको छ । करेन्ट बायोलोजीमा प्रकाशित अध्ययनअनुसार यस समूहमा पहिले सोचिएभन्दा बढी प्रजाति हुन सक्ने देखिएको छ ।

यसअघि टाइगर क्याट समूहमा तीन प्रजाति रहेको मानिँदै आएको थियो । नयाँ अध्ययनले भने कम्तीमा पाँच प्रजाति हुन सक्ने संकेत गरेको छ, जसमा बोलिभियाको नयाँ टिल्काया क्याट पनि समावेश छ ।

टाइगर क्याटहरू मध्य तथा दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा पाइन्छन् । कोस्टारिकादेखि बोलिभिया र अर्जेन्टिनासम्म फैलिएको यो समूहमा पर्ने बिरालाहरू आकार र शरीरको रङ तथा धब्बाका कारण एकअर्कासँग निकै मिल्दोजुल्दो देखिन्छन् ।

यसअघि पहिचान गरिएको ओन्सिला वा उत्तरी टाइगर क्याट पनि नयाँ प्रजातिसँग निकै मिल्दोजुल्दो देखिन्छ । त्यसैले बाहिरी स्वरूपका आधारमा मात्र यी बिरालाहरूलाई छुट्याउन वैज्ञानिकहरूलाई समेत कठिन हुने गरेको छ ।

संरक्षणका लागि महत्वपूर्ण खोज

वैज्ञानिकहरूका अनुसार नयाँ प्रजाति पहिचान हुनु केवल वर्गीकरणसम्बन्धी उपलब्धि होइन, संरक्षणका दृष्टिले पनि महत्वपूर्ण छ ।

अक्सफोर्ड विश्वविद्यालयकी को वन्यजन्तु संरक्षण अनुसन्धान युनिटकी अनुसन्धानकर्ता क्यारोलिन सार्टोरले कुनै प्रजाति के हो र कहाँ बस्छ भन्ने नै थाहा नभए त्यसको प्रभावकारी संरक्षण गर्न कठिन हुने बताएकी छन् ।

image (1)

टाइगर क्याट समूहका प्रजातिहरू वन फँडानी, प्राकृतिक बासस्थानको विनाश र अवैध सिकारका कारण जोखिममा छन् । नयाँ टिल्काया क्याट भने यसअघिका संरक्षण मूल्यांकनमा समावेश नै थिएन ।

अहिले जीवित अवस्थामा टिग्रिनोबाहेक अर्को सदस्य पुष्टि नभएकाले नयाँ प्रजातिको वास्तविक संख्या र यसको वितरण क्षेत्रबारे वैज्ञानिकहरूलाई अझै धेरै जानकारी आवश्यक छ । अनुसन्धानकर्ताहरूले बोलिभियाको युङ्गास तथा आसपासका जङ्गलमा थप अध्ययन र खोजी गर्नुपर्ने बताएका छन् ।

यस खोजले जैविक विविधताका सम्बन्धमा अझै कति कुरा पत्ता लाग्न बाँकी छ भन्ने पनि देखाएको वैज्ञानिकहरूको भनाइ छ । घरपालुवा बिरालोको आकारका जनावरसमेत लामो समयसम्म वैज्ञानिक अभिलेखबाट बाहिर रहन सक्नुले कम अध्ययन भएका उष्णकटिबन्धीय वन क्षेत्रमा अझै धेरै अज्ञात प्रजाति हुन सक्ने संकेत गर्छ ।

बिरालो परिवारमा प्रजाति बढ्दै

विश्वका सबै घरपालुवा र जङ्गली बिरालाहरू फेलिडे नामक जैविक परिवारमा पर्छन् । यसमा घरपालुवा बिरालादेखि सिंह, चितुवा, बाघलगायत ठूला बिरालासम्म समावेश छन् ।

हाल आधिकारिक रूपमा ४१ प्रजाति मानिँदै आएको बिरालो परिवारमा नयाँ खोज र टाइगर क्याट समूहमा गरिएको पुनःवर्गीकरणका कारण प्रजातिको संख्या ४४ वा त्यसभन्दा बढी पुग्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

नेसनल म्युजियम स्कटल्याण्डका स्तनधारी विशेषज्ञ एन्ड्र्यु किचेनरले दक्षिण अमेरिकी यी साना थेग्लावाला दार बिरालाहरूलाई वर्गीकरणका दृष्टिले निकै जटिल समूहका रूपमा वर्णन गरेका छन् । उनका अनुसार समान शारीरिक बनोट, सीमित संग्रहालय नमुना र कम अभिलेखका कारण कुन बिरालो कुन प्रजातिको हो भन्ने विषयमा वैज्ञानिकहरू अझै नयाँ कुरा सिकिरहेका छन् ।

कमेन्टहरु