नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो, संख्या भने रेकर्डमा अहिलेसम्म एउटै मात्र

एजेन्सी

सारांश
बोलिभिया । दक्षिण अमेरिकी देश बोलिभियाको जङ्गलमा वैज्ञानिकहरूले नयाँ जङ्गली बिरालो प्रजाति पहिचान गरेका छन् । लियोपार्डस तिलकायो नाम दिइएको यो सानो बिरालो प्रजातिको जीवित अवस्थामा हालसम्म एउटा मात्र सदस्य फेला परेको छ ।
वैज्ञानिकहरूले नयाँ प्रजातिको नाम टिल्काया क्याट राखेका छन् भने बोलिभियाको एक वन्यजन्तु उद्धार केन्द्रमा रहेको १० वर्षे बिरालोलाई ‘टिग्रिनो’ उपनाम दिइएको छ ।
घरपालुवा बिरालोको आकारजस्तै देखिने यो जनावरको शरीरमा चितुवाको जस्तो धब्बा र निधारमा धर्का छन् । यही कारणले यसलाई लामो समयसम्म दक्षिण तथा मध्य अमेरिकामा पाइने अन्य साना जङ्गली बिरालो नै होला भनेर झुक्किएको थियो ।
तर नयाँ आनुवंशिक अध्ययनले यो बिरालो अन्य प्रजातिभन्दा फरक रहेको देखाएको छ । अनुसन्धानकर्ताहरूले जीवित बिरालोका साथै संग्रहालयमा सुरक्षित गरिएका नमुनाबाट डीएनए संकलन गरी ‘टाइगर क्याट’ समूहको वंशावली अध्ययन गरेका थिए ।
बोलिभियाको ला पाजस्थित युनिभर्सिडाड मृयर डि सान एम्ड्रेसकी वैज्ञानिक पाओला नोगालेस–अस्कारुनजले उद्धार केन्द्रमा स्वयंसेवा गर्ने क्रममा टिग्रिनो अन्य बिरालाभन्दा फरक देखिएको पत्ता लगाएकी थिइन् ।
टिग्रिनोलाई एक स्थानीय बासिन्दाले जङ्गलमा फेला पारेका थिए । सुरुमा उनले त्यसलाई घरपालुवा बिरालोको बच्चा ठानेका थिए । तर ठूलो हुँदै गएपछि त्यसको व्यवहार घरपालुवा बिरालोको भन्दा निकै फरक रहेको देखियो ।
नोगालेस–अस्कारुनजले बोलिभियाको युङ्गास क्षेत्रका घना जङ्गलमा यस्तै साना जङ्गली बिरालो देखिएको स्थानीय अभिलेख र भनाइबारे पनि जानकारी पाएकी थिइन् । तर ती घटनाको वैज्ञानिक अनुसन्धान भने भएको थिएन ।
यसपछि उनले विभिन्न देशका अनुसन्धानकर्तासँग मिलेर टाइगर क्याट समूहको आनुवंशिक तथा वंश विकाससम्बन्धी अध्ययन अघि बढाइन् ।
ब्राजिलका संरक्षण आनुवंशिकीविद् एडुआर्डो इजिरिकका अनुसार पर्याप्त नमुना, तस्बिर र संग्रहालय अभिलेखको अभावका कारण यो प्रजाति लामो समयसम्म वैज्ञानिक अनुसन्धानको नजरबाट बाहिर रह्यो ।
‘टाइगर क्याट’का पाँच प्रजाति

अनुसन्धानले नयाँ प्रजाति पत्ता लगाउनुका साथै टाइगर क्याट समूहबारे यसअघिको बुझाइ पनि परिवर्तन गरेको छ । करेन्ट बायोलोजीमा प्रकाशित अध्ययनअनुसार यस समूहमा पहिले सोचिएभन्दा बढी प्रजाति हुन सक्ने देखिएको छ ।
यसअघि टाइगर क्याट समूहमा तीन प्रजाति रहेको मानिँदै आएको थियो । नयाँ अध्ययनले भने कम्तीमा पाँच प्रजाति हुन सक्ने संकेत गरेको छ, जसमा बोलिभियाको नयाँ टिल्काया क्याट पनि समावेश छ ।
टाइगर क्याटहरू मध्य तथा दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा पाइन्छन् । कोस्टारिकादेखि बोलिभिया र अर्जेन्टिनासम्म फैलिएको यो समूहमा पर्ने बिरालाहरू आकार र शरीरको रङ तथा धब्बाका कारण एकअर्कासँग निकै मिल्दोजुल्दो देखिन्छन् ।
यसअघि पहिचान गरिएको ओन्सिला वा उत्तरी टाइगर क्याट पनि नयाँ प्रजातिसँग निकै मिल्दोजुल्दो देखिन्छ । त्यसैले बाहिरी स्वरूपका आधारमा मात्र यी बिरालाहरूलाई छुट्याउन वैज्ञानिकहरूलाई समेत कठिन हुने गरेको छ ।
संरक्षणका लागि महत्वपूर्ण खोज
वैज्ञानिकहरूका अनुसार नयाँ प्रजाति पहिचान हुनु केवल वर्गीकरणसम्बन्धी उपलब्धि होइन, संरक्षणका दृष्टिले पनि महत्वपूर्ण छ ।
अक्सफोर्ड विश्वविद्यालयकी को वन्यजन्तु संरक्षण अनुसन्धान युनिटकी अनुसन्धानकर्ता क्यारोलिन सार्टोरले कुनै प्रजाति के हो र कहाँ बस्छ भन्ने नै थाहा नभए त्यसको प्रभावकारी संरक्षण गर्न कठिन हुने बताएकी छन् ।
_aV6qZ5fbZ1.webp)
टाइगर क्याट समूहका प्रजातिहरू वन फँडानी, प्राकृतिक बासस्थानको विनाश र अवैध सिकारका कारण जोखिममा छन् । नयाँ टिल्काया क्याट भने यसअघिका संरक्षण मूल्यांकनमा समावेश नै थिएन ।
अहिले जीवित अवस्थामा टिग्रिनोबाहेक अर्को सदस्य पुष्टि नभएकाले नयाँ प्रजातिको वास्तविक संख्या र यसको वितरण क्षेत्रबारे वैज्ञानिकहरूलाई अझै धेरै जानकारी आवश्यक छ । अनुसन्धानकर्ताहरूले बोलिभियाको युङ्गास तथा आसपासका जङ्गलमा थप अध्ययन र खोजी गर्नुपर्ने बताएका छन् ।
यस खोजले जैविक विविधताका सम्बन्धमा अझै कति कुरा पत्ता लाग्न बाँकी छ भन्ने पनि देखाएको वैज्ञानिकहरूको भनाइ छ । घरपालुवा बिरालोको आकारका जनावरसमेत लामो समयसम्म वैज्ञानिक अभिलेखबाट बाहिर रहन सक्नुले कम अध्ययन भएका उष्णकटिबन्धीय वन क्षेत्रमा अझै धेरै अज्ञात प्रजाति हुन सक्ने संकेत गर्छ ।
बिरालो परिवारमा प्रजाति बढ्दै
विश्वका सबै घरपालुवा र जङ्गली बिरालाहरू फेलिडे नामक जैविक परिवारमा पर्छन् । यसमा घरपालुवा बिरालादेखि सिंह, चितुवा, बाघलगायत ठूला बिरालासम्म समावेश छन् ।
हाल आधिकारिक रूपमा ४१ प्रजाति मानिँदै आएको बिरालो परिवारमा नयाँ खोज र टाइगर क्याट समूहमा गरिएको पुनःवर्गीकरणका कारण प्रजातिको संख्या ४४ वा त्यसभन्दा बढी पुग्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
नेसनल म्युजियम स्कटल्याण्डका स्तनधारी विशेषज्ञ एन्ड्र्यु किचेनरले दक्षिण अमेरिकी यी साना थेग्लावाला दार बिरालाहरूलाई वर्गीकरणका दृष्टिले निकै जटिल समूहका रूपमा वर्णन गरेका छन् । उनका अनुसार समान शारीरिक बनोट, सीमित संग्रहालय नमुना र कम अभिलेखका कारण कुन बिरालो कुन प्रजातिको हो भन्ने विषयमा वैज्ञानिकहरू अझै नयाँ कुरा सिकिरहेका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















