मधेश प्रदेश

मधेस सरकारले गणेश यादवको परिवारलाई घर बनाइदिने

नवलपुर टुडे
२०८३ साउन २२ | मध्यान्ह ०८:०४ बजे

सिरहा। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने भएको छ। मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो।

मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार यससम्बन्धी सहमति भएको छ। मृतकका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादव तथा स्थानीय समाजसेवी र अगुवाहरूको उपस्थितिमा यससम्बन्धी लिखित सहमतिसमेत गरिएको छ। घटनालगत्तै गणेशको परिवारलाई भेटेपछि मन्त्री सिंहले अवस्था कमजोर रहेको र घर बनाएर सरकारको उपस्थिति देखाउनुपर्ने प्रस्ताव प्रदेश सरकारको बैठकमा राखेका थिए।

परिवारले जग्गा उपलब्ध गराउनेबित्तिकै निर्माण कार्य प्रारम्भ हुने मन्त्री सिंहले बताए। प्रदेश सरकारले यसका लागि बजेट पनि विनियोजन गरिसकेको छ। मृतक गणेशका बुवा रामवृक्ष यादवका लागि रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवले बताए। उनकाअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ

कमेन्टहरु