संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्दैछन् साउदी अरब, टर्की र पाकिस्तान


रियाद । साउदी अरब, टर्की र पाकिस्तानले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्दैछन् । यस मामिलाबारे जानकार क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले छापेको समाचारअनुसार सम्झौतामा शुक्रबार हस्ताक्षर हुनेछ ।
अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले खाडी देशहरूलाई हमला गरेर क्षेत्रभर अशान्ति मच्चिरहँदा यो सम्झौता हुन लागेको हो ।
झन्डै एक वर्ष लामो वार्तापछि यो सम्झौता हुन लागेको हो । इरानसँगको युद्धका कारण खाडी देशहरूको सुरक्षा चुनौती बढेको र स्टे«ट अफ होर्मुज हुँदै हुने तेल तथा अन्य महत्त्वपूर्ण वस्तुको ढुवानी प्रभावित भइरहेका बेला यसलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसअघि जनवरी २०२६ मा टर्कीका विदेशमन्त्री हाकान फिदानले क्षेत्रीय सहयोग र स्थायित्वका लागि व्यापक सुरक्षा संयन्त्रको पक्षमा टर्की रहेको बताएका थिए ।
साउदी अरेबिया–पाकिस्तानबीच यस अघि नै भएको रक्षा सम्झौताअनुसार कुनै एक देशमाथि भएको आक्रमणलाई दुवै देशमाथिको आक्रमण मानिने व्यवस्था रहेको छ । पाकिस्तानी सेना, पाकिस्तान सरकार र साउदी अरेबिया सरकारले यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।






















