चिप बनाउन प्रयोग हुने चिनियाँ सामानामा ट्रम्पले लगाए १५ प्रतिशत ट्यारिफ


वाशिङ्टन डीसी । चीनबाट आयात गरिने सेमिकन्डक्टर र सोलार प्यानल बनाउने महत्त्वपूर्ण सामान पोलिसिलिकनमा अमेरिकाले १५ प्रतिशतको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै यो ट्यारिफ लगाएका हुन् । यस आदेशले पोलिसिलिकन र सम्बन्धित सामानको न्यूनतम आयात मूल्य पनि तोकेको छ । राष्ट्रिय सुरक्षा अनुसन्धान गरेपछि यो कदम चालिएको हो ।
चीनको चिप उद्योगबाट अमेरिकी उत्पादकहरू प्रतिस्पर्धाको सामना गरिरहेकै समयमा यो कदम आएको हो । पछिल्लो केही वर्षयता चिप उद्योग अमेरिका र चीनबीच टकरावको मुख्य स्रोत बनिरहेको छ ।
अमेरिकाले चिनियाँ व्यवसायहरूको पछि लाग्न राज्य शक्तिको दुरुपयोग गरिरहेको दूतावासले भनको छ । संरक्षणवादले अमेरिकालाई अरु प्रतिस्पर्धी नबनाउने पनि भनिएको छ ।
न्यूनतम आयात मूल्यहरू तोक्न र पोलिसिलिकन र सम्बन्धित आयातहरूमा १५ प्रतिशत कर लगाउन वाणिज्य मन्त्री हावर्ड लुटनिकले गरेको सिफारिसहरू आफूले स्वीकार गरेको ट्रम्पले आदेशमा भनेका छन् । यी उपायहरू डिसेम्बरमा लागू हुने बताइएको छ ।






















