न्यायालय

न्यायाधीश सपना प्रधान मल्ल दोस्रोपटक कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

नवलपुर टुडे
२०८३ साउन ७ | मध्यान्ह ०८:०४ बजे

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा बिहीबार (साउन ७) देखि भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

प्रधानन्यायाधीश डा. शर्मालाई बिदाई गर्न वरिष्ठतम् न्यायाधीश मल्ल आफैँ अन्तर्राष्ट्रिय विमानास्थल पुगेकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले गत वर्षको १८ चैतमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन् । उनी डा. शर्मा प्रधानन्यायाधीशमा नियुक्ति नहुञ्जेल झण्डै डेढ महिना जेठ ५ गतेसम्म कामुको जिम्मेवारीमा थिइन् ।

प्रधानन्यायाधीश डा. शर्मा स्वदेश नफर्किंदासम्म मल्लले न्यायपालिकाको नेतृत्व गर्नेछिन् । न्यायपरिषद्ले प्रधानन्यायाधीशमा योग्यता पुग्ने सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) पठाएको आधारमा संवैधानिक परिषद्ले चौथो वरीयताका डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि मल्ल रोकिएकी थिइन् । प्रधानन्यायाधीश शर्मा भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् । शर्मा भारत भ्रमणमा जानुअघि सर्वोच्चकी वरिष्ठतम न्यायाधीश मल्लसहितका न्यायाधीश र विशिष्ट कर्मचारीले बिदाई गरेका थिए ।

शर्मा भ्रमण सकेर साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

कमेन्टहरु