भूमि प्रशासन कार्यालय गौरमा दलाली र घुसखोरी मौलाएको आरोप, ‘बिना घुस कुनै काम हुँदैन’ भन्दै सेवाग्राही आक्रोशित


रौतहट । भूमि प्रशासन कार्यालय गौर, रौतहटमा दलाली, बिचौलियाको चलखेल र घुसखोरी मौलाएको भन्दै सेवाग्राहीहरूले गम्भीर आरोप लगाएका छन्। कार्यालय प्रमुखदेखि विभिन्न फाँटका कर्मचारी सम्मले बिना आर्थिक लेनदेन सर्वसाधारणको काम नगर्ने गरेको उनीहरूको गुनासो छ।
सेवाग्राहीहरूका अनुसार कार्यालयभित्र दुई प्रकारका समूह सक्रिय देखिन्छन्। एउटा समूह कानुन र प्रक्रियाअनुसार सेवा प्रवाह गर्न चाहने पक्षमा रहेको बताइन्छ भने अर्को समूह आफन्त, बिचौलिया र पहुँचवालाको काम कानुनविपरीत भए पनि सहज रूपमा गराइदिने पक्षमा सक्रिय रहेको आरोप छ।
उनीहरूका अनुसार जिल्ला अदालतबाट भएको बन्डा छुट्याउने प्रक्रिया, मिलापत्र बमोजिमको दाखिल खारेज, नामसारी, मोही लगत कट्टा, राजीनामा, दानबक्सपत्र, दृष्टिबन्धक, जग्गा रजिस्ट्रेसन लगायतका कार्यमा अनावश्यक झन्झट सिर्जना गरिने गरेको छ। वडा कार्यालय, नगरपालिका तथा अदालतबाट आवश्यक सिफारिस र कागजात पूरा गरेर पुगे पनि कर्मचारीको नियत अनुकूल नभए कुनै न कुनै त्रुटि देखाएर फाइल रोक्ने गरिएको सेवाग्राहीहरूको आरोप छ।
स्थानीयहरूको भनाइ अनुसार घुस नदिने सेवाग्राहीलाई कानुनी प्रक्रिया र प्राविधिक कारण देखाउँदै पटक–पटक दुःख दिने, तर बिचौलिया वा लिखन्दासमार्फत रकम पुगेपछि सोही काम सहज रूपमा सम्पन्न हुने गरेको अवस्था रहेको छ। विशेषगरी मोहीयानी फाँट, नामसारी शाखा तथा जग्गा सम्बन्धी विभिन्न कार्यमा आर्थिक चलखेल व्यापक रहेको आरोप सेवाग्राहीहरूले लगाएका छन्।
“पैसा नदिए कानुनका अनेकौँ कुरा गरेर फाइल रोकिन्छ, पैसा दिएपछि सबै प्रक्रिया मिलाइन्छ,” एक सेवाग्राहीले गुनासो गर्दै भने। कार्यालयमा पुगेका सर्वसाधारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिचौलियाको सहारा लिन बाध्य बनाइएको समेत उनीहरूको दाबी छ।
सेवाग्राहीहरूले मालपोत, भूमि सुधार तथा नापी कार्यालयहरूमा हुने कथित घुसखोरी र अनियमितताविरुद्ध सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै कार्यालयभित्र मौलाएको भनिएको दलाली, बिचौलियातन्त्र र भ्रष्टाचार अन्त्य गरी पारदर्शी तथा जनमुखी सेवा प्रवाह सुनिश्चित गर्न आग्रह गरेका छन्।






















