आत्महत्या न्यूनीकरणका उपायहरु

नवलपुर टुडे
२०८३ असार २७ | मध्यान्ह ०८:०३ बजे

भोजराज पाण्डेय
पुर्व प्र.ना.उ., अधिवक्ता
घटना २०७५ सालको हो । पाल्पा जिल्लाको रामपुर नगरपालिका वार्ड नं ६ घर भएकी एक अधबैशे महिलाले कतारमा रहेका श्रीमानसंग राति इमोमा कुराकानी हुंदै गर्दा श्रीमान श्रीमती बीच सामान्य बिषयमा निम्न स्तरको भाषा र शब्द प्रयोग गरि झगडा गरे पश्चात ती महिला आबेशमा आई साथमा रहेका दुई छोराहरु (४ बर्ष र २ बर्ष) लाई सुतिरहेकै अबस्थामा ढोकाको चुकुल भित्रबाट लगाई सलले घाटीमा पासो लगाई घरको छानो अड्याउन राखेको बलोमा पासो लगाई झुण्डिएर आत्महत्या गर्छिन । (अनुसन्धान बाट खुलेको तथ्य) ।
२०७९ सालको असार महिनामा तनहुं जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं १ घर भएकी एक महिलाले बिदेशमा रहेका श्रीमान संग इमोमा भीडियो कल गरि कुराकानी गर्दै गर्दा सामान्य बिषयमा झैझगडा भए पछि “अब म झुण्डिएर मर्छु भनि” कल डिस्कनेक्ट गर्छिन । निजको पतिले अत्तालिदै गाउंकै एक जना भाईलाई फोन गरि “भाउजु रिसाएर मर्छु भनेकी छिन, तुरुन्त घरमा गएर हेर्न” अनुरोध गरेपछि निज उक्त घरमा जांदा महिलाले भित्रबाट ढोकाको चुकुल लगाई आत्महत्या गरिसकेकी थिइन । निज तथा निज महिलाको बहिनी र गाउंले समेतको प्रयासमा निजहरुले ढोका फुटाली “बांचि पो हाल्छ की “ भनि हसियाले पासो काटि निज महिलालाई हतार हतार पासोबाट छुट्याई हेर्दा महिलाको मृत्यु भैसकेको रहेछ ।(अनुसन्धानबाट खुलेको तथ्य) ।
माथि उल्लेखित घटनाहरु त आत्महत्याका केबल प्रतिनिधि घटनाहरु मात्र हुन । मानिसले प्राण त्याग गर्ने कुरालाई सामान्य र हल्का रुपमा लिन थालेको कारण यस्ता घटनाहरु दैनिक रुपमा घट्ने गरेको तथ्य हाम्रा सामु छर्लङग छ । जीवन कति मुल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्याका घटनाहरु हुने गरेका छन । सामान्य बिषयमा आफ्नो भावाबेषलाई नियन्त्रण गर्न नसक्दा यस्ता प्रकृतिका घटनाहरु समाजमा हुने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगको कारण पनि आत्महत्याका घटनाहरुमा बृद्धी भएको पाइन्छ । नेपाल लगायत बिश्वका हरेक देशमा अहिले सबैभन्दा डरलाग्दो समस्याको रुपमा रहेको आत्महत्याको बिषयलाई लिएर आज सबै देशहरु चिन्तित बनेका छन ।
खास गरि मानिसको मस्तिष्कमा सकारात्मक र नकारात्मक दुबै सोच रहेको हुन्छ । सकारात्मक सोचमा परिवर्तन आई कुनै परिवेश,घटना बिशेषलाई लिई त्यही बिषयमा निरन्तर मानसिक उल्झन गरि उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण अथवा अब यो समस्यालाई म कुनै पनि हालतमा समाधान गर्न सक्दिन भन्ने नकारात्मक र निरासाबादी सोच मनमा पैदा भई आफ्नो जीवन प्रति अत्यन्त घृणा भाव महशुस गरि अस्वभाविक रुपमा मृत्यु वरण गर्नुलाई आत्महत्या भनिन्छ ।
मानिसले समस्यालाई २ प्रकारले लिएको हुन्छ । एउटा सरल र अर्को कठिन । सरल समस्यालाई उसले आफ्ना साथिभाई र साथिहरु संग सेयर पनि गर्दछ र त्यसको तत्काल समाधान पनि हुन्छ । किनभने समस्यालाई सेयर गर्दा सहज तरिकाले त्यसको समाधान पनि निस्कन्छ । तर कठिन खालको समस्यालाई उसले आफन्तजन तथा साथीहरुलाई सेयर गर्दैन । किनकी उसले पहिले नै कल्पना गरि सकेको हुन्छ की यो समस्यालाई सेयर गर्नु ठिक हुदैन । जुन सेयर गरेमा समाजमा उसको बेइज्यती हुने वा अपगाल आउने हुन सक्छ भन्ने उसलाई लागिरहेको हुन्छ । समस्या समाधान हुन नसकेको कारण मन अशान्त हुन्छ र भित्रभित्रै नैराश्यताले उसमा जरा गाड्न थाल्छ । अन्ततोगत्वा उसले उक्त समस्याको समाधान केबल मृत्यु नै हो भन्ने ठान्छ र सहजै मृत्यु वरण गर्दछ ।
कतिपय अबस्थामा मानिसलाई आत्महत्या गर्न बाध्य पनि बनाइएको हुन्छ । नेपालमा खासगरि तराईका जिल्लाहरुमा दाइजोको कारण धेरै महिलाले आत्महत्या गरि मृत्यु बरण गरेको कारण त्यसको रोकथामको लागि २०७४ सालमा मुलुकी अपराध संहिता ल्याएको छ । खास गरि तराईमा बुहारीहरुलाई दाइजो नल्याएको निहुंमा सासू ससुरा तथा श्रीमान एवं घरका अन्य परिवार द्धारा शारीरिक तथा मानसिक रुपमा प्रताडित गरि आत्महत्या गर्न बाध्य बनाएको कारण धरै महिलाहरुले अकालमा मृत्यु बरण गर्ने गरेको घटनालाई निरुत्साहित, नियन्त्र्ण र रोकथाम गर्न यो प्राबधान ल्याएको कुरा नकार्न सकिदैन । तर पछिल्लो समयमा सामाजिक सञ्जालमा साथि बनि निजको उक्त फेसबुक एकाउन्ट ह्याक गरि कुनै तरहले प्राप्त गरेका निजका अश्लिल फोटो तथा भिडियोहरु पोष्ट वा सेयर गर्ने गरेको र गर्नको लागि धम्की दिएकै कारण समाजमा बेइज्यती हुने डरले आत्महत्या गर्ने गरेका घटनाहरु पनि प्रशस्त छन् ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा आत्महत्या सम्बन्धी बिषयलाई पहिलो पटक कानूनी दायरामा ल्याएको छ । उक्त ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन भन्ने उल्लेख छ । उक्त ऐनको दफा १८५ बिरुद्ध कसूर गर्ने व्यक्तिलाई पांच बर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरिवाना हुनेछ भन्ने कुरा ऐनमा उल्लेख गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष बिश्वभर करिब आठ लाख मानिसहरुले आत्महत्या गरि मर्ने गर्दछन् । हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्दछ भने प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्याको कारण मृत्यु हुने गर्दछ । विश्वभरमा हुने गरेका आत्महत्याका घटनाहरुलाई हेर्ने हो भने प्राय पुरुषहरुको तुलनामा महिलाहरुले बढी आत्महत्या गर्दछन । आत्महत्याको दर गृहणी, बिधार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ । आत्महत्या गर्नेमा बिश्वमा रहेका देशहरुको तुलनामा नेपाल तेर्हौ स्थानमा रहेको छ । १५ बर्ष देखि ४५ बर्षको उमेरका मानिसहरुले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसमा पनि खास गरि सहारा बिहिन, निको नहुने रोगले ग्रसित र पीडादायी रोगको बिरामी (६० बर्ष देखि माथि) भएकाहरुले पनि पीडासंग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ । युवाहरु बैदैशिक रोजगारीको शीलशीलामा बिदेशमा जाने र बुहारीहरु गाउंमा नबसी छोराछोरी पढाउन भनि शहरमा बस्ने गरेको कारण बृद्धबृद्धाहरु सहारा बिहिन भई जिन्दगी देखि बिरक्तताको अनुभूति गरि आत्महत्या गर्ने गरेका छन । कतिपय अबस्थामा बुढ्यौली संगै बिभिन्न रोगले ग्रसित रहेको र भरपर्दो उपचार गर्ने गराउने मानिस नरहेको कारण पीडाबाट मुक्ति पाउनको लागि आत्महत्या गर्ने गरेको पनि पाइन्छ ।
“म मेरो वोलीलाई सकारात्मक राख्दछु किन भने मेरो वोलिवाट मेरो व्यवहार वन्दछ, म मेरो व्यवहार सकारात्मक राख्दछु किन भने व्यवहारवाट मेरो जीवन मूल्य वन्दछ,म मेरो जीवन मूल्य सकारात्मक राख्दछु किनभने जीवन मूल्यवाट मेरो भविष्य वन्दछ ।“ भारतीय महान नेता महात्मा गान्धिले जीवनको बारेमा उल्लेख गरेको उद्गारले जीवनको बास्तबिकता छर्लङग पार्दछ । बास्तवमा खुशी या शुख पाउन भनेर काम गरेमा जीवनमा खुशी कहिल्यै आउदैन बरू तनाब हुन्छ । किनभने मानिसले जहिले पनि आशातित परिणाम भन्दा बढी महत्वाकाक्षा राखेको हुन्छ । जसले गर्दा उसमा खुशी प्राप्त नहुन सक्छ । तर खुशीका साथ काम गर्यो भने निश्चित रुपमा खुशी भई सफलता प्राप्त हुन सक्छ।
समाजमा बिभिन्न कारणहरुले गर्दा मानिसले आत्महत्या गर्ने गरेको पाइन्छ । यसका प्रमुख कारणहरुमा लैङगिक तथा घरेलु हिंसा,पारिवारिक बेमेल, झैझगडा खिचातानी, शारीरिक तथा मानसिक तनाव डिप्रेसन, लामो समय निको नहुने दिर्घरोग लाग्नु, सोचे/चाहे अनुसारको काम नहुनु/नबन्नु, नतिजामुखी परिणाम नआउनु, प्रेममा धोका खानु, प्रेम सम्बन्धलाई परिवार र समाजले बैधता नदिनु, सामाजिक बहिष्कार, अपहेलना, बेरोजगार, गरिवी, अशिक्षा, सामाजिक संजालको गलत प्रयोग गर्नु र अनावस्यक महत्वकाक्षां लिनु आदि पर्दछन ।
आत्महत्या जस्तो जटील समस्या समाधान गर्नको लागि कानून निर्माण मात्र बलियो आधार हुन सक्दैन । यसको लागि ब्यापक रुपमा जनसहभागिता सहित सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु आबस्यक रहन्छ । साथै स्थानीय रुपमा यसको लागि सरोकारवालाहरुको सहकार्यमा बिधार्थी र समाज लक्षित सचेतनात्मक कक्षाहरु पनि संचालन गर्नु उपयुक्त हुन्छ । यसको अलावा ब्यक्तिगत रुपमा ब्यक्ति आफैले बिभिन्न उपायहरु अबलम्बन गर्न सकेमा पनि आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । जस्तै एकान्तमा बस्ने बानी नगर्ने,असफलतालाई लिएर अनाबस्यक तनाव नलिने,हरपल आफूलाई व्यस्त राख्ने प्रयास गर्ने, नकारात्मक सोच मष्तिष्कमा आउन नदिने, झैझगडा गर्ने र रिसाहा स्वभाव नगर्ने, सामाजिक सञ्जालको दुरुपयोग नगर्ने, कसैलाई पनि आफ्नो सोसियल मिडियाको पासवर्ड सेयर नगर्ने, शुख र दुख लाई समान रुपमा लिने लगायतका कार्यहरु गर्न सकेको खण्डमा यस्तो बिचार मनमा आउन बाट बच्न सकिन्छ । कुनै पनि असफलतामा नैराश्यता आउन नदिनु जीवनको लागि अत्यन्त महान कार्य मानिन्छ ।
यसलाई नियन्त्रण वा न्यूनीकरण गर्ने कार्य एकल प्रयास बाट मात्र कदापी सम्भव हुन सक्दैन । सामाजिक उत्तरदायित्व अन्तरगत जिम्मेवार निकायबाट सामुहिकप्रयास गरेको खण्डमा पनि यसलाई प्रभावकारी रुपमा न्यूनीकरण गर्न सकिन्छ । जस्तै महिला शिक्षा तथा सशक्तीकरण अभियानको संचालन गर्ने, बैदेशिक रोजगारीलाई निरुत्साहित गरि रोजगारी श्रृजना गर्ने, घरेलु, लैङगिक र असमान व्यबहार तथा हिंसा नगर्ने, पारिवारिक मेलमिलाप राख्न प्रयास गर्ने,झैझगडा र खिचातानी हुन नदिने, सवैलाई समान व्यबहार (परिवार, समाज र बिधालय) गर्ने, कसैलाई पनि सामाजिक बहिष्कार नगर्ने, सामाजिक सद्बभाव कायम गर्ने लगायतका कार्यहरु गर्न सकेमा यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
त्यसै गरि घटना न्यूनीकरणको लागि नगरपालिका, गाउँपालिका, वडा कार्यालय, अन्य सरकारी तथा गैर सरकारी एवं सामाजिक संघ संस्था, बिधालय तथा क्याम्पसहरु समेतको सहयोग तथा समन्वयमा बिभिन्न चेतनामुलक प्रशिक्षण कार्यक्रमहरुको संचालन गर्ने,गाउंघर तथा टोल टोलमा घरदैलो कार्यक्रम संचालन गर्ने, असहाय, गरिव, निमुखा र अशिक्षितहरुलाई निशुल्क र परोपकारी भावले सहयोग गर्ने,योग तथा ध्यान केन्द्रहरु संचालन गर्ने,युवायुवतीलाई दुर्व्यसनीबाट टाढा राख्न चेतनामुलक कार्यक्रम संचालन गर्न सकेमा पक्कै पनि नेपालमा बढ्दो रुपमा रहेको आत्महत्याको बिकराल अबस्थालाई केहि हद सम्म भए पनि न्यनूनीकरण गर्न सकिन्छ ।
हामीले देखेका छौं समाजका धेरै प्रतिष्ठित मानिसहरु तथा राष्ट्रीय अन्तराष्ट्रीय पहिचान बनाएका धेरै मानिसहरुले पनि सहज तरिकाले आत्महत्याको बाटो रोजेका छन । त्यसमा कतिले परिबन्द वा दुरुत्साहनको कारण पनि गरेका हुन सक्छन । तर जिबनको यथार्थता लाई नबुझेर, संघर्षको बाटो त्यागेर जीबन बिसर्जन नै अन्तिम सत्य हो भन्ने ठानि अल्पायुमै आत्महत्याको बाटो रोज्नुलाई कदापी उचित मान्न सकिदैन । नेपाल तथा भारतका कतिपय नायक नायिकाहरुले पनि सहज तरिकाले आत्महत्याको बाटो रोजेको हामीले सुनेका छौं। भलै त्यसका पछाडी दुरुत्साहनको कारण पनि हुन सक्छ । तर कानूनी उपचार हुने अबस्था हो भने कानूनी उपाय अबलम्बन गरि पीडा बाट मुक्त भई जीबन सार्थक बनाउनु पर्नेमा बिसर्जन गर्नुलाई कसै गरि पनि उचित कार्य मान्न सकिदैंन । ब्यक्ति, समाज तथा अन्य सरोकारवाला निकायहरु बीचमा सहकार्यका साथ कार्यक्रम संचालन गरि समाजको तल्लो तह सम्म सुसुचित गर्न सकेको खण्डमा पक्कै पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा आशा गर्ने ठाउँ बांकी रहन्छ ।


















