प्रबास

दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल

एजेन्सी
२०८३ असार २३ | मध्यान्ह ०४:०३ बजे

नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ बराबरको दान हिनामिना भएको आरोप लागेपछि मन्दिर व्यवस्थापनमा व्यापक फेरबदल गरिएको छ ।

मन्दिर सञ्चालन गर्ने श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले महासचिव चम्पत रायको राजीनामा स्वीकृत गर्दै उनको स्थानमा अवकाशप्राप्त वन अधिकारी कृष्ण मोहनलाई कार्यवाहक महासचिव नियुक्त गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २०२४ मा उद्घाटन गरेको राम मन्दिर पछिल्लो समय भारतको सबैभन्दा महत्वपूर्ण तीर्थस्थलमध्ये एक बनेको छ । हरेक वर्ष यस मन्दिरमा झन्डै ५ करोड भक्तजन आउने गरेका छन् । यो मन्दिर सन १९९२ मा हिन्दू समूहले भत्काएको १६औँ शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा निर्माण गरिएको हो ।

गत महिना दान रकम हिनामिनाको आरोप सार्वजनिक भएपछि उत्तर प्रदेश सरकारले तीन सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो । यसअघि ट्रस्टले सबै आरोप अस्वीकार गरेको थियो । तर एसआईटीको प्रारम्भिक प्रतिवेदनपछि अयोध्या प्रहरीले हिनामिनासम्बन्धी मुद्दा दर्ता गर्दै आठ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रस्टका कोषाध्यक्ष गोविन्द देव गिरीले पत्रकार सम्मेलनमा चम्पत राय र अर्का अधिकारी अनिल मिश्रले जुन २५ मा प्रहरीमा मुद्दा दता भएपछि राजीनामा दिएको जानकारी दिए । उनले ट्रस्टमा पहिलो पटक प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पनि सिर्जना गरिएको र त्यसका लागि तीन सदस्यीय समितिले उपयुक्त नाम सिफारिस गर्ने बताए ।

गोविन्द देव गिरीका अनुसार सन २०२६ मार्च ३१ सम्म मन्दिरले भक्तजनबाट ५ अर्ब ८२ करोड भारतीय रुपैयाँ दान प्राप्त गरेको छ । त्यसमध्ये ३ अर्ब १९ करोड रुपैयाँ मन्दिरको सञ्चालन, संरक्षण र व्यवस्थापनमा खर्च गरिएको उनले बताए । नवनियुक्त कार्यवाहक महासचिव कृष्ण मोहनले यस्ता घटना दोहोरिन नदिने गरी व्यवस्थापनका सबै कमजोरी हटाउने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । उनले दान हिनामिनाको आरोपले ट्रस्टको प्रतिष्ठामा असर परेको र समाजमा अविश्वास सिर्जना गरेको स्वीकार गरे ।

कमेन्टहरु