महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

रासस
२०८३ असार १० | मध्यान्ह ०४:०३ बजे

रुपन्देही । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ। वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए।
“तालिम लिएरमात्र हुँदैन, यसको सदुपयोग गर्नुपर्छ, तालिम निःशुल्क भनिए पनि तपाईँहरूले सरकारलाई तिरेको करबाट सञ्चालन गरिएको हो”, उनले भनिन्। तालिममा पाएको प्रमाणपत्र घरमा मात्र राखेर यसको उपलब्धि नहुने भएकाले आर्थिक उपार्जनमा लाग्न उनले महिलाहरूलाई आग्रह गरिन्।
त्यस्तै आधार तालिम सेन्टरका प्रमुख अनिल केसीले केही आवश्यक सहयाेग गर्न तयार रहेकाे बताए। तालिममा सहभागी (प्रशिक्षार्थी) अनुपा पाण्डेले तालिममा प्रशिक्षकले राम्रोसँग ज्ञान दिएको बताइन्।
























