समाज

पत्रकार देवराज यादवसहित पाँच पत्रकार सम्मानित

नवलपुर टुडे
२०८३ असार ९ | बिहान ०७:०३ बजे

सुनसरी । सुनसरीकाे कोशी गाउँपालिकाले आफ्नाे २१औँ गाउँसभा अधिवेशनको अवसरमा पत्रकार देवराज यादवसहित पाँचजना पत्रकारलाई सम्मान गरेको छ । गाउँपालिका भित्र सञ्चार क्षेत्रमार्फत सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पाँच जना पत्रकारलाई सम्मान गरिएको छ।

कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले गाउँपालिकाको राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न गतिविधिबारे स्थानीयस्तरमा नागरिकलाई सुसूचित गराउने कार्यमा सक्रिय भूमिका निर्वाह गरेको योगदानको उच्च कदर गर्दै पत्रकार देवराज यादव, पप्पु यादव, मिकायल आलम, पवन रोनियार र मुस्ताक आलम लाई प्रशंसा–पत्रसहित सम्मान गरेको हो।

प्रशंसा–पत्रमा गाउँपालिका क्षेत्रमा सूचना प्रवाह तथा जनचासोका विषयलाई प्रभावकारी रूपमा आम नागरिकसमक्ष पुर्याउन पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको उल्लेख गरिएको छ। साथै सम्मानित पत्रकारहरूको आगामी जीवन थप सफल, सुस्वास्थ्यपूर्ण, समुन्नत तथा निरन्तर प्रगतिमय रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। कोशी गाउँपालिका लौकहीस्थित रहेको सिटीहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इन्साइल मन्सुरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ऐयुव असारी, उपाध्यक्ष अनिता देवी यादव, प्रमुख प्रशासकीय अधिकृत मोहन सिंह दर्जी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कोशी गाउँपालिकाभित्र रहेका विभिन्न वडा अध्यक्षहरू विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, वडा कार्यालयका कर्मचारी, स्थानीय नागरिक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गाउँसभाको अवसरमा सञ्चारकर्मीहरूको योगदानको सम्मान गर्दै गरिएको यस कार्यक्रमले स्थानीय पत्रकारिताको भूमिका थप प्रभावकारी र जिम्मेवार बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएकोछ । पत्रकार यादव नवलपुर टुडेका कोशी प्रदेश प्रमुख हुन ।

कमेन्टहरु