नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा


वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले पहिलो पटक आइतबारदेखि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेलका अनुसार यसबाट अस्पतालमा उपचाररत करिब ४० हिमोफिलियाका बिरामीलाई थप सहजता हुने छ । उनले सोसाइटीले उपचारका लागि आवश्यक औषधि पनि हस्तान्तरण गरेको जानकारी दिए । साथै सोसाइटीले स्वास्थ्यकर्मीलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘फ्याक्टर’ को प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण पनि दिएको छ ।
नेपालमा धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको र आवश्यक औषधिमध्ये करिब ५४ प्रतिशत अभाव रहेको सोसाइटीका उपाध्यक्ष रामकृष्ण बोगटीको भनाइ छ ।
हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको छ । पछिलो जनगणना अनुसार नेपालमा करिव ३ हजार हेमोफिलियायुक्त व्यक्ति रहेको अनुमान छ । तर नेपाल हिमोफिलिया सोसाइटीले अहिलेसम्म नेपामला ७५० जना मात्रै सम्पर्कमा आएको जनाएको छ । जनचेतनाका अभावमा अझै पनि हिमोफिलियाका बिरामी खुलेर बाहिर आउन सकेका छैनन् ।
हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो । यसमा शरीरमा रगत जमाउन आवश्यक ‘क्लोटिङ फ्याक्टर’ को कमी हुन्छ । यस रोगबाट प्रभावित व्यक्तिमा सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रक्तश्राव भइरहने, जोर्नी सुन्निने तथा शरीरभित्र आन्तरिक रक्तश्राव हुनेजस्ता समस्या देखिन्छन् ।
चिकित्सकका अनुसार हिमोफिलिया वंशाणुगत समस्या पनि हो । तर, कसैमा वंशानणुगत नभएर अन्य कारणले पनि हुन सक्छ । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाई हुन्छ र लामो समयसम्म रगत नरोकिन सक्छ । यही समस्यालाई ‘हिमोफिलिया’ भनिन्छ ।
रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको कार्य गर्दछ । रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा सङ्कुचन हुन्छ । प्लेटलेट प्लगको निर्माण हुन्छ । छालामा ‘फाइब्रिन’ जालोको निर्माण भई रक्तस्राव रोकिन्छ ।
























