होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा


कीर्तिपुर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उनी सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थालेका छन् । होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उनलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो, तर स्वामित्व भने थिएन ।
सुकुमवासीको सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कत्ति जोखिममा थियो । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा ४९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो ।
त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३ दशमलव पाँच प्रतिशतमा ग्याष्ट्रिक, सात प्रतिशत मानसिक समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या चार दशमलव पाँच प्रतिशतमा देखिएको थियो । सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अङ्क झन् बढ्यो । तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ ।
चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये साढे ३८ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइँका क्रममा भएको देखियो । जसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेङ्गु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो ।
यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो । प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुमवासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो ।
सुकुमवासी राखिएका ६ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ । अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको उक्त टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिएका छन् ।
त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो (सानो) वस्तु देख्न र पढ्न गाह्रो छ । अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यतिबेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सको परामर्शपछि उनी त्रिपुरेश्वस्थित आँखा अस्पताल गए । त्यहाँका चिकित्सकले तिलगङ्गा ‘रेफर’ गरेका छन् । अब त्यतै गएर उपचार गराउने सुरमा छन् उनी ।
थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने लागेको थियो । अहिले सबैलाई घरबाट निस्किएर चौबाटोमा बसे जस्तो भएको छ । “सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ला” उनी भन्छन् । डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि त्यहीँ भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीले सुझाएका छन् ।
करिब २० वर्ष थापाथलीमा बिताएकी ५० वर्षे पुनम मगरलाई थापाथलीमै बस्दा उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको उनले बताए । “धेरैथरीको स्वास्थ्य परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उनले भने । त्यहाँबाट अस्पताल पुगेपछि भने महँगो औषधी आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उनले बताए ।
अर्का सुकुमवासी खिमबहादुर पुलायामगरले अस्पताल पुगेपछि औषधी सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताए ।
होल्डिङ सेन्टरका सुकुमवासीमध्ये कतिपय दीर्घरोगी छन् । जसको नियमित स्वास्थ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा सम्भवै थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरूले नियमित स्वास्थ्य परीक्षण र परामर्शमात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । सेन्टरमा भेटिएकी सुवासदेवी पासवानले आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटोसमेत प्राप्त भएको बताइन् ।
होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदीकिनारको दैनिकीले शारीरिकमात्र होइन मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगत लामो समयदेखि अव्यवस्थित र असुरक्षित बसाइले दुवैथरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् ।
केहीले विगत लामो समयदेखि दैनिकी बिताएको ठाउँ एक्कासी छोडनुपर्दाको दुःख व्यक्त गरेका छन्, तर पनि त्यो भन्दा धेरै असुरक्षित बसोबासका कारण थापाथली किनारमै थुपै्र शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरूसँग उनीहरूले व्यक्त गरिरहेका छन् ।
सुकुमवासीहरूमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छवटै होल्डिङ सेन्टरमा विशेषज्ञसहितका टोलीसहित धेरैपटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् सुलभराज उप्रेती । उनले भने, “थापाथलीको जोखिमपूर्ण बसोबासलाई जीवन ठानेर बसेकालाई केही असहज लाग्नु स्वभाविक हो । तर त्यस्तो बसोबासका कारण थुपै्र मनोवैज्ञानिक जटिलता देखिन्छन् । यस्ता व्यक्ति ठूलो सङ्ख्याका भेटिनुहुन्छ ।”
मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्येता सम्मिलित टोलीले छवटै शिविरका गरी ६०० भन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श पनि भएको थियो । “हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या पनि उल्लेख्य थियो”, मनोचिकित्साविद् उप्रेतीले भने ।
कुराकानीबाट आएको निष्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पाइएको उनले जानकारी दिए । उनका अनुसार परामर्श र सहायता पछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किनसमेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उनीहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता कम हुँदै गएको पाइएको जानकारी पनि उनले दिए ।
मनोसामाजिकविद्हरूको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शबाट थाहा पायो, विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२ दशमलव आठ प्रतिशत रहेछन् । तीमध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४ दशमलव छ प्रतिशत छ ।
मानसिक समस्याकै कारण तीन दशमलव तीन प्रतिशत आत्महत्याबाट र मदिराजन्य समस्याबाट तीन दशमलव तीन प्रतिशतले जीवन गुमाएका पाइएको मनोसामाजिकविद्हरू बताउँछन् । त्यसरी खोलाछेउ बस्दा शान्ति त जीवनमा छँदै थिएन् । फलस्वरुप १०० मध्ये करिब १२ जनाले आत्महत्याको सोचसमेत बनाउन पुगेका रहेछन् । त्यस्तै सयमध्ये सात जनालाई विशेषखालकै मनोरोग सेवा आवश्यकपर्ने अवस्था रहेछ ।
तथ्याङ्कले यो तस्बिर दिएपछि चिकित्सकको टोलीले छवटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिँदै आएको छ । यसले खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुमवासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरूले महशुस गरेका छन् ।
यसक्रममा मनोचिकित्सकसँग आफ्नो विगतबारे खुलेर कुरा गरे सुकुममवासीहरूले । बाहिरबाट हेर्दा नदीकिनारमा जोखिमपूर्ण जीवन बिताउनेहरूलाई त्यो सामान्य लाग्थ्यो र होल्डिङ सेन्टरको जीवन विश्मयपूर्ण । तर सँगै अब जीवनले नयाँ मोड लिने आशामा अधिकांश सुकुमवासी छन् ।
सुकुमवासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हरेकसँगको कुराकानी, उनीहरूका समस्या पहिचान र त्यसको विश्लेषणमा पनि कर्मचारी खटिरहेका छन् । त्यसमा संलग्न प्रधानमन्त्रीको कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले भनिन्, “सुकुमवासीका रोगमात्र पत्ता लगाएका छैनौँ, रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श पनि निरन्तर भइरहेको छ ।”
यही तथ्याङ्कको आधारमा क्यान्सर, निमोनियाजस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको र यस्तो जटिलता थप सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उनले बताए ।
























