Opens in a new tab

यातायात

काठमाडौँ उपत्यकाको सडकमा ३० वटा रात्रिकालीन साझा बस सेवा सुरु

नवलपुर टुडे
२०८३ अशोज ५ | बिहान ०८:०६ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर वैशाख १ गतेबाट सुरु परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी स्थानीय तहहरू साझा कार्यक्रममा आबद्ध भएका हुन् ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीयतहका प्रमुखहरूले साझा यातायातसँग समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर ठिमी नगरपालिका छन् । यसमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ । संविधान दिवसको अवसरमा पारेर साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो । त्यसलगत्तै ६ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो ।

समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षण कालमा अभ्यास गरिएको २ वटा रुटमा ४ वटा थपेका छौँ । ७ वडा गाडीलाई ३० वटा पु¥याएका छौँ । ४ वटा नगरपालिकाको सहकार्यमा ९ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर चल्छ । दिगो चल्छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो– ‘उपत्यकाबासीको यातायात सहजताका लागि संघ सरकारबाट मेट्रो सञ्चालनका विषयमा योजना ल्याउनु पर्नेथियो । त्यो विषय अहिले आएको देखिएन । मेट्रो नभएपछि बीआरटी (बस ¥यापिड ट्रान्जिट) हुनुपथ्र्यो । त्यसको पनि केही संकेत छैन । संघबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन । यसकारण हामीले स्थानीय स्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ ।’ उहाँले साझाबसलाई निःशुल्क सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

‘संविधान दिवसका दिन सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भयो । यो नागरिकसँग जोडिएको ठुलो उपलब्धि हो’ –साझाका अध्यक्ष प्याकुरेलले भन्नुभयो । विस्तारित सेवाअन्तर्गत जगाती ९ सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल–बूढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर (जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ ।

यसअघि लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राती ८ बजेदेखि ११ बजेसम्म सातवटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव तथा मूल्यांकन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठुलो कुरा भएको निष्कर्ष निकालिएको थियो ।
रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सातवटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसंख्याका आधारमा कामपाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ । सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३÷८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् । निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका गर्न सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् ।

उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार भएपछि अस्पताल, विमानस्थल, बजार तथा अन्य अत्यावश्यक सेवामा आवतजावत गर्ने नागरिकका लागि सार्वजनिक यातायातको विकल्प थपिने अपेक्षा गरिएको छ । चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ । टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले असोज १ गतेदेखि डिजिटल टिकेटिङ प्रणाली विकास गरेको छ । यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ ।

आर्थिक चुवावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ ।

कमेन्टहरु